काठमाडौं । बीवाइडीले विश्वव्यापी रुपमा आफ्ना कार निर्यात गर्न एकैपटक ठूलो क्षमताका १० वटा कार बाहक पानीजहाज (कार क्यारियर) अर्डर गरेको छ ।
समुद्री यातायात सम्बन्धी अन्तर्राष्ट्रिय संचार माध्यम ‘न्यू शिप्स’का अनुसार बीवाइडीले एकैपटकमा ९२०० युनिट कार बोक्न सक्ने पानीजहाज अर्डर गरेको हो ।
यो नयाँ अर्डरसँगै बीवाइडीको आफ्नो ‘कार्गो फ्लिट’ १८ वटा पुग्नेछ । यसबाट बीवाइडीले एकैपटकमा कुल १ लाख ३० हजारभन्दा बढी सवारी साधन ओसारपसार गर्न सक्नेछ । बीवाइडीसँग हाल ८ वटा पानीजहाज रहेका छन् । ती जहाजको एक पटकमा कार बोक्ने क्षमता ७२०० र ९२०० रहेको छ।
यी पानीजहाजहरूलाई ‘प्योर कार एण्ड ट्रक क्यारियर्स’ भनिएको छ । जुन विशेष गरी सवारी साधन ओसारपसार गर्न डिजाइन गरिएका हुन्छन्। यिनीहरूको क्षमता कुनै पनि आकारका निश्चित संख्याका सवारी साधनभन्दा पनि कार इक्विभ्यालेन्ट युनिट (सीईयू) मा मापन गरिन्छ ।
रिपोर्टअनुसार चाइना मर्चेन्ट्स इन्डस्ट्रीले आफ्ना जिन्लिङ र हाइमेन शिपयार्डहरूमा यी पानीजहाजहरू निर्माण गर्नेछ । यी नयाँ जहाजको डेलिभरी सन् २०२७ देखि २०२९ को बीचमा तय गरिएको छ। यद्यपि, यी जहाज कति रकममा अर्डर गरिएको भन्ने बारे जहाज निर्माता कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन् ।
बीवाइडीसँग हाल भएका जहाजको वार्षिक ढुवानी क्षमता १० लाख कार रहेको छ । थप १० नयाँ जहाज थपिएपछि बीवाइडीको निर्यात क्षमता प्रतिवर्ष २५ लाख कार पुग्ने अनुमान छ ।
बीवाइडीले आफ्ना जहाज चीनबाहिरका कारखानाबाट कार ओसार्न पनि प्रयोग गर्छ । सेप्टेम्बर २०२५ मा बीवाइडी झेङझाउले थाइल्याण्ड प्लाण्टबाट यूकेतर्फ राइट ह्याण्ड ड्राइभ सवारी साधनहरू ओसारपसार गरेको थियो ।
बीवाइडीको घरेलु व्यापार खस्किए पनि अन्तर्राष्ट्रिय बजारमा तीव्र गतिमा फस्टाइरहेको छ । कम्पनीले सन् २०२६ को ८ महिना (जनवरी–अगस्ट)मा मात्रै ११ लाख २७ हजार युनिट गाडी निर्यात गरेको छ । जुन गत वर्ष सोही अवधिको तुलनामा ८८ प्रतिशत बढी हो। कम्पनीले सन् २०२७ मा २५ लाख कार निर्यातको महत्वकांक्षी लक्ष्य राखेको छ ।


