चितवन दुर्घटना : आगो दन्किँदा पनि किन गुडिरह्यो कार ?

काठमाडौं । शुक्रबार बिहान चितवनमा विद्युतीय कारमा भएको भीषण आगलागीले विद्युतीय सवारीको सुरक्षामाथि चौतर्फी चासो व्यक्त भइरहेका छन् । आगलागीमा परेको कार पूर्ण रूपमा जलेको छ भने कार भित्र रहेका चालकको मृत्यु भएको छ ।

उक्त कार चीनको प्रतिष्ठित कार निर्माता जीएसीले बनाएको हो । जीएसी मोटर्स चीनमा टोयोटा र होण्डा जस्ता ब्राण्डका कार उत्पादनमा ४० वर्षभन्दा बढीको अनुभव भएको ग्रुप हो ।

अहिले सामाजिक संजालमा आएका भिडियो, स्थानीय प्रहरी प्रशासन तथा गाडीको दुर्घटनाको अवस्था नियाल्दा ठ्याक्कै यही कारण आगलागी भएको हो भन्न सक्ने अवस्था छैन । घटनाको बारेमा प्राविधिकको सहयोग लिएर अनुसन्धान गरिने चितवन प्रहरीले जनाएको छ ।

क्याबिन भित्र आगोको मुस्लो चल्दासमेत सडकमा ईभी दौडिरहेको भिडियो आएको छ । जीएसीको आधिकारिक बिक्रेता सीजी मोटर्सले अहिलेसम्म घट्ना के कारण भयो भन्ने विषयमा ठोस कुरा बाहिर ल्याएको छैन ।

यस्ता दुर्घटनाको कारण पत्तालगाउन समय लाग्छ नै । यसको प्रविधिक पक्ष अनुषन्धान नगरिकन किन र कसरी आगलागि भयो भन्ने एकिन जानकारी बाहिर ल्याउन सहज छैन ।

दुर्घटनाको भिडियो हेर्दा कार बाहिरबाट भन्दा पनि भित्रबाट आगो सल्किएको प्रष्ट हुन्छ । त्यही भित्रबाट आलगागि सुरू भएको दृश्यले अहिले मुख्य प्रश्न उब्जाएको छ । ‘आगो ब्याट्रीबाट सुरू भएको हो वा क्याबिनभित्रको विद्युतीय प्रणाली वा अन्य मानव सर्जित कारण ?’

आगलागीको कारण खोजी कार्यसमेत सुरू नभएको अवस्थामा धेरै कुरा ठोकुवा गर्नु गल्ति हुन्छ । त्यसैले घटनाको प्रकृतिलाई हेरेर केही कुरा यहाँ बुझ्ने कोशिस गरौं ।

बाहिर आएको भिडियोले ३ वटा गम्भीर प्रश्न खडा गरेको देखिन्छ । पहिलो प्रश्न आगोको सुरूवात वास्तवमा कहाँबाट भयो ?, दोस्रो प्रश्न आगो लागिसकेपछि पनि कार किन निरन्तर गुडिरह्यो ? र तेस्रो प्रश्न आगो फैलिँदै जाँदा चालकले ढोका खोलेर बाहिर निस्कने प्रयास किन गर्न सकेनन् ?

तीनवटा प्रश्नको उत्तर पत्ता लगाउन सके मात्र दुर्घटनाको वास्तविक कारणसम्म पुग्न सकिन्छ । अन्यथा के भएको हो भन्ने कुरा अनुमान बाहेक केही हुँदैनन् ।

ब्याट्री कुन छ ?

आयन वाईमा लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री रहेको छ । अहिले सबैभन्दा सुरक्षित मानिएको एलएफपी ब्याट्री तापिय स्थिरताका हिसाबले पनि निकै सुरक्षित मानिन्छ । तर, यसको अर्थ यस्तो ब्याट्रीमा आगलागी हुनै सक्दैन भन्ने पक्कै होइन ।

ब्याट्रीको कुनै कोषमा आन्तरिक सर्ट सर्किट, उत्पादनजन्य कमजोरी, अत्यधिक तापक्रम, भौतिक क्षति, विद्युत् चुहावट वा इन्सुलेसनमा समस्या आएमा आगलागी हुन सक्छ ।

ब्याट्री भित्रको तापक्रम असामान्य रूपमा बढ्दै जाँदा एक कोषबाट अर्को कोषमा ताप फैलिने अवस्थालाई तापीय नियन्त्रण गुमाउने प्रक्रिया भन्न सकिन्छ । यस्तो अवस्थामा ब्याट्रीबाट अत्यधिक ताप, धुवाँ र आगो निस्कने हुन्छ । तर, आगालागीको सुरुवाती चरणमा आएको भिडियोमा क्याबिनभित्र आगो देखिएको छ । त्यो लिथियम ब्याट्री कै हो भनेर ठोकुवा गर्न सकिँदैन ।

क्याबिन भित्रको विद्युतीय प्रणाली शंकाको घेरामा

घटनाको विस्तृत भिडियो विश्लेषण गर्दा आगो साँच्चिकै क्याबिनको पछाडिको भागबाट ड्यासबोर्ड तर्फबाट सुरू भएको देखिन्छ ।

विद्युतीय कारमा मुख्य ब्याट्रीबाहेक कम भोल्टेजमा चल्ने छुट्टै विद्युत् प्रणाली पनि हुन्छ । यही प्रणालीले विभिन्न विद्युतीय उपकरण, नियन्त्रण प्रणाली, बत्ती, ढोकाको विद्युतीय प्रणालीलगायतका उपकरण सञ्चालन गर्छ ।

त्यसैले विद्युतीय तारमा सर्ट सर्किट, फ्युज वा रिलेमा समस्या, कम भोल्टेजको ब्याट्री, प्रत्यक्ष विद्युत् रूपान्तरण गर्ने उपकरण, इन्फोटेन्टमेन्ट सिस्टमका तार, एसीका विद्युतीय उपकरण, बाहिरबाट थपिएका विद्युतीय उपकरण वा चार्जिङ प्रणालीमा समस्या आएर आगलागी सुरू भएको हुनसक्छ ।

आगलागि सुरू भए पनि कार किन गुडिरह्यो ?

चितवन भएको आयन वाईको घटनामा सबैभन्दा महत्वपूर्ण पक्ष यही हो । अनुषन्धान गर्नु पर्ने पाटो पनि यही हो । गाडीको गल्तीका कारण आगलागी भयो कि ? वा, चालकले नै आत्महत्यासम्मको प्रयास गरे । त्याे छानबिनले देखाउला ।

माथिको कुरालाई कारमा आगो लागिसकेपछि पनि गाडी केही समयसम्म निरन्तर अगाडि बढेको भिडियोमा देखिन्छ । यो दृष्यले चालकले गाडी नियन्त्रण गर्न नसकेको वा नचाहेको दुवै हुन सक्छ ।

कारको क्याबिनमा आगो लाग्दा केही समयमै बाक्लो धुवाँ जम्मा भएर चालक बेहोस भएको पनि हुन सक्छ । चालकले ढोका खोल्न सकेनन् वा खोल्न चाहेनन् भन्ने कुरा यहाँ अनुषन्धानको पाटो बन्नुपर्छ ।

अनुषन्धान के-केमा गर्ने ?

विद्युतीय गाडीमा भएको यस्तो गम्भीर दुर्घटनाको अनुसन्धान सामान्य गाडीको आगलागीभन्दा फरक ढंगले गर्नुपर्छ । सबैभन्दा पहिले आगो कहाँबाट सुरू भयो भन्ने कुरा पत्ता लगाउनुपर्छ । उत्पादकले नियमन गर्न सक्ने ब्याट्री मेनेजमेन्ट सिस्टम (बीएमएस), भेहिकल कन्ट्रोल युनिट (भीसीयू), इन्भटर जस्ता कुरा हुन् ।

त्यसपछि ब्याट्रीको प्रत्येक कोष, ब्याट्रीका विभिन्न भाग, विद्युतीय तार, फ्युज, कम भोल्टेजको ब्याट्री र अन्य विद्युतीय उपकरणको परीक्षण गर्नुपर्छ।

आगलागीअघि ब्याट्रीको तापक्रम, विद्युत् प्रवाह, कोषको भोल्टेज वा अन्य कुनै असामान्य संकेत रेकर्ड भएको थियो कि थिएन । तार, फ्युज, नियन्त्रण उपकरण र अन्य विद्युतीय भागमा सर्ट सर्किट भएको थियो कि थिएन ।

चालकतर्फको ढोका खुल्ने अवस्थामा थियो कि थिएन । आगलागीअघि चालकले ब्रेक लगाएका थिए कि थिएनन् तथा गति नियन्त्रणमा कुनै असामान्य अवस्था आएको थियो कि थिएन ।

दुर्घटनाअघि गाडी कहिले र कहाँ चार्ज गरिएको थियो । गाडी दुर्घटनामा परेको, पानीमा डुबेको, तल्लो भागमा क्षति पुगेको वा बाहिरबाट कुनै विद्युतीय उपकरण थपिएको थियो कि थिएन हेर्नुपर्छ ।


Back_to_top