काठमाडौं । डिसेम्बर २०२५ को अन्तिमबाट उपभोक्तालाई डेलिभरी सुरू भएको आइकार भी-२३ अहिले सर्वाधिक चर्चा भइरहेको एसयूभी हो । पृथक डिजाइन, ठिकठाकको रेन्ज र रेट्रो लुक्सको कारण यसलाई किन्न चाहने बढ्दै गएका हुन् ।
आइकार ब्राण्डमै नेपाल आएको पहिलो मोडल भी-२३ एसपीजी अटोमोबाइल्सले आधिकारिक रूपमा बिक्री थालेको छ । अहिले पनि सयौंको संख्यामा बुकिङ गरेर डेलिभरीको लागि कुर्नेहरू छन् ।
सुरूमा आएको ५० युनिट उपभोक्तालाई डेलिभरी गरिसकेको कम्पनीले अन्यको लागि जनवरीको अन्तिम साता डेलिभरी दिने जनाएको छ । त्यसैले यसको बुकिङ गरेर बसेकाहरू जनवरी अन्तिमको प्रतिक्षामा छन् ।
चेरी ग्रुप अन्तर्गतको आइकार ब्राण्डमा कम्पनीले लाइफ स्टाइल भेहिकल बनाउँदै आएको छ । कम्पनीको भी-२३ इन्ट्री लेभल मोडल हो । बजारमा धेरैले रुचाएको यो एसयूभी एउटा मात्रै भेरियन्टमा उपलब्ध छ ।
अहिले बजारको पहिलो रोजाइ बन्न सफल एसयूभीको बलियो र कमजोर पक्षलाई हामीले यहाँ चर्चा गरेका छौं ।
बलियो पक्ष
राम्रो मूल्य र इएमआई
आइकार भी-२३ को मूल्य सुरूमा ४७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू भएको हो । अब यसको मूल्य बढेर ४९ लाख ९९ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य गाडीको डिजाइन, साइज र फिचर्स अनुसार राम्रो नै लाग्छ ।

यसको मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गर्नेगरी खरिद गर्दा मासिक ४५ हजार २७० रुपैयाँ हाराहारी किस्ता तिर्नुपर्छ । त्यो कर्जा ७ वर्षको लागि हुनेछ भने अहिले बजारमा रहेको ब्याजदर ७ प्रतिशतका दरले हिसाब गरिएको हो ।
रेट्रो मोर्डन डिजाइन
फेसनमा रुची भएका उपभोक्ताको लागि यसको रेट्रो लुक्स मन नपर्ने कुरै भएन । पुरानो क्लासिक डिजाइन र नयाँ बक्सी लुक्सको मिश्रणले यसलाई अब्बल बनाएको छ ।
रेन्ज पनि राम्रो
चिनियाँ ब्याट्री जाइन सीएटीएलले बनाएको ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री यसमा उपलब्ध छ । यसले नेपाली सडकमा ३५० किलोमिटर आसपासको रेन्ज सजिलै दिनेछ । त्यसैले सहर होस् या हाइवे दुवै ठाउँमा चलाउन यो उपयोगी गाडी हो ।

१०० किलोवाटको ‘इनब्यूल्ट’ मोटर
चीनमा एकातिर रिसर्च र डेभलमेन्ट, अर्को तिर अधिक रेसियोमा मोटर पावर घटाएर ल्याइएका गाडी बजारमा बिक्री हुँदै आएका छन् । तर, आइकार भी-२३ मा इनब्यूल्ट १०० किलोवाटको मोटर छ । जसले १८० न्युटन मिटर टर्क प्रदान गर्छ । यसको एक्सलरेसन निकै स्मुथ लाग्छ ।
आधुनिक फिचरहरू
गाडीमा आधुनिक टेक फिचर्सको लामो लिस्ट उपलब्ध छ । यसमा ठूलो स्क्रीन, साइबर टेक इन्टेरियर, एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ । एडास भित्रका धेरै फिचर्स सुरक्षाको लागि उपयोगी छन् ।
कमजोर पक्ष
नयाँ ब्राण्ड : आइकार ब्राण्ड नेपालको लागि विल्कुलै नयाँ हो । ओमोडा/जेको भित्रै रहने भएको कारण धेरैले पुरानै ब्राण्डको रूपमा बुझ्छन् । तर, आइकार नयाँ ब्राण्ड भएकाले एउटै ‘मास’ ब्राडिङ अहिल्यै पुग्न सकेको छैन । यसलाई कमजोर पक्षको रूपमा हेर्न सकिन्छ ।

बाहिर अधिक मोर्डन डिजाइन
रेट्रो मोर्डन लुक्स मनपर्नेको लागि उपयुक्त एसयूभी ठूलो तप्कालाई मन नपर्न सक्छ । गाडीलाई पृथक देखाउने क्रममा प्रयोग भएका धेरै प्लास्टिक र ग्लासका पार्टसले दुर्घटना भएको खण्डमा खर्च धेरै गराउन सक्छ ।
हाम्रो निष्कर्ष
यो गाडीको कमजोर पक्षको तुलनामा कयौं बलियो पक्ष छ । यदि, तपाईं लाइफ स्टाइल एसयूभी खोज्दै हुनुहुन्छ भने पहिलो रोजाइ भी-२३ बन्न सक्छ ।
यसमा प्रयोग भएको हेडलाइट, ह्वील, स्टेरिङ, ड्यासबोर्ड, बक्सी बडी डिजाइन, राम्रो साइजको ब्याट्री र मोटर साइजको कारण यो एक ‘भ्यालू फर मनी’ एसयूभी हो । यदि, तपाईं ५० लाख भित्रको एसयूभी खोज्दै हुनुहुन्छ भने पक्कै एक पटक भी-२३ टेस्ट ड्राइभ गर्नुहोला ।

