काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले बाटो इजाजत पत्र (रुट परमिट) पालनामा कडाइ गरेको छ ।
कार्यालयले आज उपत्यकाका विभिन्न स्थानमा विशेष चेकिङ गर्दै नियम उल्लंघन गर्ने १५ वटा सवारीसाधनलाई कारबाही गरेको हो ।
ती सवारीले यातायात व्यवस्था कार्यालयबाट जारी भएको बाटो इजाजत पत्र (रुट परमिट) अनुसारको गन्तव्य स्थानसम्म नगई जथावाभि पार्किङ गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार ती सवारी साधनहरूलाई नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६० को २ (ख) अनुसार कारबाही गरिएको छ ।
उक्त दफा अनुसार ट्राफिकले सवारी साधनलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

