काठमाडौं । जापानी ब्राण्ड सुबारूको हाइब्रिड क्रसओभर एसयूभी क्रसट्रेक नेपाल आएको छ । सुबारूको आधिकारीक बिक्रेता बिजय मोटर्सले उपत्यकामा आज एक कार्यक्रम आयोजना गरेर नयाँ हाइब्रिड मोडल बिक्री सुरू गरेको हो ।
सुबारू नेपालमा धेरै वर्ष अघिदेखि उपलब्ध ब्राण्ड हो । कम्पनीले पहिलो पटक हाइब्रिड मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो । सुबारूको हाइब्रिड क्रसट्रेकमा २.० लिटर बक्सर फोर सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर प्रदान गर्छ ।
इलेक्ट्रीक मोटरको पावर भने १२.३ किलोवाट मात्रैछ । यी दुबै मोटर्सको संयुक्त पावर १२२ किलोवाट छ । अल ह्वील ड्राइभमा उपलब्ध यो क्रसओभर एसयूभीको टर्निङ सर्कल १०.८ मिटर रहेको छ ।
चालकसहित पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने गाडीमा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको लम्बाइ ४४९५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २६७० एमएम लामो ह्वीलवेस दिइएको छ ।
ड्यासबोर्डको बीचमा दिइएको ११.४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक क्लाइमेट कन्ट्रोल, वायरलेस कार प्ले र एन्ड्रोइड अटो, १० वटा कार्डनको स्पीकर पाउन सकिन्छ । एडास फिचर सहित उपलब्ध क्रसट्रेकले ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
यसको हाइब्रिड टेक्नोलोजीको कम्बाइन रेन्ज प्रति ६.५ लिटर पेट्रोलबाट १०० किलोमिटर रहेको छ । बिजय मोटर्सले यसको मूल्य १ करोड ६९ लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।
त्यसैगरी कम्पनीले अर्को २.५ लिटर इन्जिनमा आउटब्याक टुरिङ आइसाईट भेरियन्ट पनि ल्याएको छ । यसमा रहेको इन्जिनले १८८ पीएस पावर प्रदान गर्छ । यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सतहमा सहजै चलाउन सकिन्छ ।