‘एटो थ्री’को नेपाली सडकमा दबदबा, अहिलेसम्म कति आयो (तथ्यांकसहित)

काठमाडौं । बीवाइडीको सर्वाधिक सफल मोडल एटो थ्री नेपाली बजारमा कति बिक्री भयो भन्ने चासो गाडीका पारखीमा हुनु स्वभाविक हो । नेपाली बजारमा प्रवेश गरेको छोटो समयमा नै यसले ठूलो सफलता हात पार्न सफल भएको थियो ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०२२ अक्टोबर महिनामा पहिलो पटक एटो थ्री नेपाल ल्याएको थियो । सुरूमा १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा आएको एटो थ्रीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ थियो ।

सरकारले कर मोटर पावरको आधारमा लगाएको कारण एटो थ्री निकै महँगो भएको थियो । खासरगरी तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको महँगो करको कारण पनि त्यतिबेला एटो थ्रीको मूल्य ९० लाख रुपैयाँ हाराहारी थियो । अर्को चीनबाट आयात मूल्य पनि अहिलेको भन्दा धेरै थियो ।

सन् २०२३ मे महिनाबाट भने १०० किलोवाट क्षमताको मोटरमा एटो थ्री आयात सुरू भयो । १०० किलोवाटको मोटरमा आएसँगै एटो थ्रीको मूल्य ६५ लाख ८८ हजार रुपैयाँ निर्धारण भयो । साइमेक्स इंकले ४९ किलोवाट आवरको ब्याट्रीमा पनि एटो थ्री नेपाल ल्याएर मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री थालेपछि यसले उपभोक्तामा ठूलो हलचल पैदा गर्न सफल भयो ।


अर्थमन्त्रीहरूले ईभीको कर गिजोल्दै गए । कम्पनीले थोरै मूल्य वृद्धि गर्यो । तर, उपभोक्तामा बलियो विश्वास कमाइसकेको एटो थ्रीको बिक्रीमा ठूलो फरक आएन । कम्पनीको बिक्री निरन्तर बढ्यो ।

बीवाइडी एटो थ्रीको लागि सन् २०२३ र २०२४ स्वर्ण वर्ष बन्यो । यी दुई वर्षमा कम्पनीले ३ हजार ६०० युनिट एटो थ्री बिक्री गर्न सफल भयो ।

सन् २०२५ मा आइपुग्दा बजारमा थुप्रै नयाँ प्रतिस्पर्धी थपिए । बीवाइडी कै एटो टु जस्ता मोडल एटो थ्रीको विकल्प बनेर आयो । खासगरी एटो थ्री नै खरिद गर्ने सम्भावित ग्राहक पनि अहिले एटो टु किनिरहेका छन् । त्यसका बाबजुद कम्पनीले सन् २०२५ मा पनि ६३६ युनिट एटो थ्री आयात गरेको देखिन्छ ।

२०२४ सबैभन्दा धेरै आयात

सन् २०२४ मा २ हजार ६८ युनिट एटो थ्री नेपाल आयो । जुन कम्प्याक्ट इलेक्ट्री एसयूभी सेग्मेन्टमा ५९ प्रतिशत बजार हिस्सा थियो । सन् २०२२ को अन्तिम दुई महिनामा केबल १० युनिट आयात भएको एटो थ्री त्यसको लगत्तै दुई वर्ष सेग्मेन्ट लिडर बन्यो ।


साइमेक्स इंक प्रालिले २०२२ अक्टोबरदेखि २०२५ डिसेम्बर अन्तिमसम्ममा ४ हजार २४६ युनिट एटो थ्री नेपाली बजारमा ल्याएको छ । जुन कुनै पनि विद्युतीय कार मोडलको आजका मितिसम्मको सबैभन्दा धेरै आयात हो ।

सन् २०२५ भने बीवाइडी एटो टु सेग्मेन्ट लिडर बनेर उदायो । दोस्रो स्थानमा भने एमजी एस फाइभ रहन सफल भयो ।

ब्याट्री, मोटर र मूल्यले बलियो

बीवाइडी एटो थ्री नेपाली इलेक्ट्रीक एसयूभी मार्केटमा सर्वाधिक सफल हुनुमा बीवाइडीको ब्लेड ब्याट्रीको मुख्य हात रह्यो । ईभीको सुरक्षामा सर्वत्र चासो चलिरहेको समयमा बीवाइडीले नेल पेनिट्रेसन टेस्ट गरेर ब्याट्री सुरक्षामा आफूलाई अब्बल देखायो ।

अर्को महत्वपूर्ण कुरा यसको मोटर पावर १०० किलोवाटमा आएसँगै मूल्यमा भारी गिरावट आयो । एकै पटक ९० लाखबाट ६६ लाख हाराहारीमा मूल्य आउँदा धेरैले यसमा चासो देखाए ।

पर्फेक्ट डिजाइन, ४०० किलोमिटरको अनरोड रेन्ज र ६६ लाख मूल्यको कारण धेरैले एटो थ्री किने । केही फिचर घटाएर ४९ किलोवाटको मोटरमा आएसँगै यसको बिक्री दुई गुणा बढ्यो ।


Back_to_top