काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी १० एकेडेमीसँगको सहकार्यमा
हुन्डाई नेक्स्ट जेन कप सम्पन्न गरेको छ।
यस पहलले हुन्डाई नेपालको ग्रासरुट फुटबलको विकास र नेपाली फुटबलका भावी प्रतिभालाई अवसर प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः उजागर गरेको छ।
ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (यू-१६) एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए।
फिफा वर्ल्ड कप २०२६ ले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला हुन्डाई नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दियो।
फिफा वर्ल्ड कप २०२६ को अफिसियल पार्टनरका रूपमा हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन “नेक्स्ट स्टार्स नाउ” अनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा टीम क्रेटा इलेक्ट्रिक, टीम भेन्यु, टीम आयोनिक ५, टीम एक्स्टेर, टीम कोना, क्रेटा, टीम ग्रान्ड आई १० नियोस र टीम पालिसेड गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि टीम भेन्यु विजेता बन्दा टीम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित रह्यो।
प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पणलाई अझ मजबुत बनाउने अवसर प्रदान गर्यो। साथै, एजी १० एकेडेमीसँगको सहकार्यमार्फत नेपाली फुटबलको ग्रासरुट विकासमा दीर्घकालीन योगदान पुर्याउने साझा उद्देश्यलाई थप सुदृढ बनाएको छ।
एजी१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले हुन्डाई नेपालको साथले नेपाली फुटबलको भविष्यलाई अझ बलियो बनाउने विश्वास लिएको बताए ।
‘नेपालमा प्रतिभाको अभाव कहिल्यै थिएन, अभाव थियो अवसरको। यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि दिन्छन्। हुन्डाई नेपालको यस्तो साथले नेपाली फुटबलको भविष्यलाई अझ बलियो बनाउने विश्वास लिएको छु,’ उनले भने ।
हुन्डाई नेक्स्ट जेन कप युवा विकास, समुदायसँगको सहकार्य तथा ग्रासरुट खेलकुद प्रवर्द्धनमार्फत अर्थपूर्ण सामाजिक योगदान गर्ने हुन्डाई नेपालको दीर्घकालीन सोचको प्रतिबिम्ब हो। हुन्डाई नेक्स्ट जेन कपको सफल समापनसँगै हुन्डाई नेपालले ग्रासरुट फुटबलको विकास र भावी पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने आफ्नो यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


