काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी सुपर शोकोले १६ देखि २० वर्ष उमेर समूहका युवाहरुलाई लक्षित गर्दै नयाँ इलेक्ट्रीक मोटरसाइकल बजारमा ल्याएको छ ।
आकर्षक डिजाइन तर कम पावरसहित आएको यो मोटरसाइकल अहिले अन्तर्राष्ट्रिय बजारमा निकै चर्चित रहेको छ । यसको मूल्य पनि कम्पनीले २ हजार ९९९ पाउण्ड तोकेर बिक्री सुरु गरेको छ ।
कम्पनीले कम उमेरका यूवालाई लक्षित गरेर ल्याएको कारण यसमा ५० सीसी क्षमताको इन्जिन सरह पावर प्रदान गर्ने इलेक्ट्रीक मोटर दिइएको छ । सुपर शोको टिएसएक्स नामबाट बजारमा ल्याइएको यो मोटरसाइकल दुई अप्सनमा पाउन सकिन्छ । यसलाई प्रतिघन्टा ४५ र ७२ किलोमिटर प्रतिघण्टाको फरक रफ्तार प्रदान गर्ने अप्सनमा किन्न सकिन्छ । स्पीडमा नियन्त्रण राख्न कै लागि कम्पनीले १९०० वाट क्षमताको बोस्चको मोटर दिएको छ ।
सुपर शोको वेलायतका अनुसार यसमा दिइएको सिंगल व्याट्रीलाई एक पटक फुल चार्जगर्दा ६५ किलोमिटर चलाउन सकिने छ । यसमा एक्स्ट्रा व्याट्री लगाउने अप्सनसमेत दिइएको छ ।
कम्पनीले यसलाई प्रिमियम बनाउन लिङ्केड ब्रेकिङ सिस्टम, प्रिमियम लुकिङ अपसाइड डाउन हाइड्रोलिक फर्क, आल्मुनियम रिम, डिजिटल ड्यासबोर्ड, सबै किसिमका लाइटहरु एलइडी प्रयोग गरेको छ ।
विगत ३ वर्षदेखि सुपर शोकोले उत्पादन गर्दै आएका मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् । तर, यो मोडल नेपाल आउँछ वा आउँदैन भन्ने विषयमा केही जानकारी प्राप्त हुन सकेको छैन ।


