सुशिला कार्की प्रधानमन्त्री नियुक्त, संसद विघटन, ६ महिना भित्र चुनाव हुने

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएकी छिन ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, जेन जी समूहका प्रतिनिधि, राजनीतिक दलका नेताहरूको दुई दिनको बृहत छलफलपछि कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने सहमति भएको थियो ।

कार्कीलाई राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको सपथ गराएका छन् । यससँगै कार्की नेपालकै पहिलो प्रधानमन्त्री समेत बनेकी छिन् ।

यस्तै, राष्ट्रपति पौडलले प्रतिनिधि सभा समेत विघटन गरेका छन् । कार्की नेतृत्वको सरकारले ६ महिना भित्र निर्वाचन गराउने छ ।

को हुन सुशिला कार्की ?

प्रधानमन्त्री कार्कीको जन्म २००९ जेठ २५ मोरङ जिल्लाको शंखरापुर विराटनगरमा भएको थियो। उनको पुर्खा धनकुटाका कार्कीहरू हुन। कार्कीले प्रारम्भिक शिक्षा विराटनगर र उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयको महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर र बनारस हिन्दू विश्वविद्यालयबाट लिएकी छिन ।

उनी सर्वाेच्च अदालतको पूर्वप्रधानन्यायाधीश तथा प्रथम महिला प्रधानन्यायाधीश पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्।

उनी २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश भएकी थिइन् । त्यसअघि उनले विराटनगर, सुनसरी र काठमाडौंबाट वकालत गरेकी थिइन। उनका पति नेपाली कांग्रेसका पुराना नेता दुर्गाप्रसाद सुवेदी हुन। सुवेदीले २०३० साल जेठमा विराटनगरबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान अपहरण गरी फारवेन्सगन्जमा ओराली सो विमानमा भएको नेपाल बैंक लिमिटेडको ३० लाख भारू लुटेका थिए।

कार्कीका पिताको सात सन्तानमध्ये सुशिला जेठी हुन्। उनको परिवार किसानी गर्दथ्यो। उनीहरू विराटनगर स्थित बीपी कोइरालाको परिवारसँग नजिक थिए। सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहे पनि सुशिलाले भने अध्ययनका लागि कानुन रोजेकी थिइन्। बनारस हिन्दु विश्वविद्यालय वाराणसीमा अध्ययनरत रहँदा नेपाली कांग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भई उनीहरूको विवाह समेत भएको थियो।

सुशीलाले महेन्द्र मोरङ क्याम्पसबाट २०२८ सालमा बिए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी थिइन्। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट २०३४ सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन्। उनको व्यावसायिक जीवन भने शिक्षण पेशाबाट सुरू भएको थियो। कार्कीले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरेकी थिइन्।

उनी विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्षसमेत थिइन् । २०३५ सालबाट वकालत सुरू गरेकी उनी सन् २०६५ मा सर्वाेच्च अदालतमा न्यायाधीशको रूपमा प्रवेश गरेकी थिइन्। सर्वाेच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति हुनुपूर्व कार्की सर्वाेच्च अदालतकै वरिष्ठ न्यायाधीश बनेकी थिइन्। २०६५ माघ ९ मा सर्वाेच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी उनी २०६७ मंसिर २ मा स्थायी न्यायधीश बनेकी थिइन्। प्रधानन्यायाधीशको सपथ २०७३ असार २७ मा लिएकी थिइन्।

भ्रष्टाचारका मुद्दामा बोल्ड फैसला

कार्की बोल्ड फैसला गर्ने प्रधानन्यायाधीशको रुपमा समेत चिनिन्छिन् । उनले न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दाहरूमा फैसला गरेकी थिइन्।

बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकी थिइन्। त्यसअघि उनले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध पदच्युत गर्ने साहसिक फैसला गरेकी थिइन्।

महाअभियोगको सामाना

प्रधानन्यायाधीश रहेकै बेला सुशीला कार्की विरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्यसम्पादन क्षमता नभएको आदि कारण देखाउँदै महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । जुन असफल भएको थियो।

कार्की विरुद्ध २०७४ वैशाख १७ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो। तुरुन्तै कार्कीलाई निलम्बित भएको पत्र पनि थमाइएको थियो।

नेकपा (एमाले) लगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाउन सकेको थिएन। २०७४ वैशाख २२ मा सर्वाेच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाएका थिए र कार्की पुनः सर्वाेच्च अदालत फर्किएकी थिइन्। प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि २०७४ जेठ २३ मा सर्वाेच्च अदालतबाट बिदा भएकी थिइन्।


Back_to_top