काठमाडौं । विगतमा पावर सेगमेन्टका रुपमा लिइने १५० सीसी सेगमेन्टका मोटरसाइकल अब इन्ट्रीलेवल हुने अवस्थामा पुगि सकेको छ । युवा पुस्ताको आकर्षण र भौगोलिक अवस्थाका कारण नेपाली बजारमा पनि यही सेगमेन्टका मोटरसाइकल धेरै बिक्री हुने गरेको हो ।
नेपाली बजारमा १५० तथा २५० सीसी सेगमेन्टका मोटरसाइकलमा प्रतिस्पर्धा समेत तिब्र रहेको छ । नेपाली बजारमा उपलब्ध सबै जसो कम्पनीले १५० सीसी सेगमेन्टका मोटरसाइकल ल्याएका छन् ।
भदौ १० गतेदेखि नाडा अटो शो २०१९ हुँदैछ । अटो शोमा कम्पनीहरुबीच नयाँ सवारी ल्याउने होड नै चल्छ । यस्तैमा यहाँ नाडा अटो शोमा आउने सुजुकीका दुई मोटरसायकल जिक्सर १५० र जिक्सर २५० का बारेमा उल्लेख गरिएको छ । नेपाली बजारमा सुजुकीका मोटरसाइकल विशाल ग्रुप अन्तर्गतको भीजी सुजुकीले उपलब्ध गराउँदै आएको छ ।
जिक्सर २५०
सुजुकीले जिक्सर २५० मोटरसाइकल मे २० मा भारतीय बजारमा सार्वजनिक गरेको हो । यो मोटरसाइकलमा सिंगल सिलिन्डर फ्यूल इन्जेक्टेड २५० सीसीको इन्जिन रहेको छ । उक्त इन्जिनले २५ पीएस पावर जेनेरेट गर्ने कम्पनीले जनाएको छ । यसमा ६ स्पीड ट्रान्समिसन रहेको छ ।
विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर २५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसका साथ आएको नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । यामाहा एफजेड २५ सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । नाडा अटो शोमा नेपाली बजारमा आउने यसको मूल्य ४ लाख ५० हजार रुपैयाँ हाराहारीमा पर्ने अनुमान गरिएको छ ।
सुजुकी जिक्सर १५०
सुजुकी मोटरसाइकलले केही दिनअघि भारतीय बजारमा जिक्सर १५० को नयाँ संस्करण सार्वजनिक गरेको थियो । विभिन्न तीन कलर उपलब्ध नयाँ जिक्सरमा एलइडी हेडल्याम्प, चिल्स फ्युल ट्यांक, जिक्सर ग्राफिक्सको विशेषता दिइएको छ भने १२ लिटरको इन्धन ट्यांकी रहेको छ ।
नयाँ रियर टायर दिइएको छ भने स्पीलिट सिट, ब्ल्याक आउट अलोय ह्वील, रेड स्ट्रेपलगायतको डिजाइन परवर्तन गरिएको छ ।
जिक्सर १५० मा दिइएको १५५ सीसी सिंगल सिलिन्डर इन्जिनले १४.१ पीएस पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ ।

