काठमाडौं । सुजुकीले आफ्नो पहिलो ‘ई-एक्सेस’ इलेक्ट्रीक स्कुटर भारतमा सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले हरियाणाको गुडगाउँमा रहेको सुजुकी प्लान्टमा उत्पादन गर्ने पहिलो इलेक्ट्रीक स्कुटर ई-एक्सेस २०२५ आगामी जुन महिनामा बजारमा उतार्ने भएको हो ।
कम्पनीले पेट्रोल एक्सेसभन्दा केही फरक शैलीमा डिजाइन गरेको ई-एक्सेस स्कुटर भारत मोविलिटी एक्स्पो २०२५ मा पनि देखाएको थियो । सुजुकीले ई-एक्सेसको उत्पादन मोडलको तस्बिर सार्वजनिक गरेको हो ।
सहरी क्षेत्रको वातावरण बचाउन र दैनिक दुई पाङग्रे साधनमा यात्रा गर्नेको खर्चसमेत कम गर्न इलेक्ट्रीक स्कुटर सहयोगी हुने कम्पनीको दावी छ । साथै, इलेक्ट्रीक स्कुटर दिगो, भरपर्दो र टिकाउ हुने बताएको छ ।
सुजुकीको नयाँ ई-टेक्नोलोजीमा तयार भएको ई-एक्सेसमा ३.७ किलोवाट आवरको (एलएफपी) लिथियम आइरन फस्फेट ब्याट्री प्याक दिइएको छ । यसमा ४.१ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १५ न्यूटन मिटर टर्क प्रदान गर्छ ।
स्कुटरमा आवाज र कम्पन निकाल्न बेल्ट ड्राइभ सिस्टम दिएको छ । यसमा दिइएको ब्याट्रीलाई फुल चार्ज गर्न एसी चार्जरले करिब ६ घन्टा ४२ मिनेट लगाउने छ । फास्ट चार्जरको प्रयोग गर्दा २ घण्टा १२ मिनेटमै फुल चार्ज हुने कम्पनीको दावी छ ।
सुजुकी ई-एक्सेस स्कुटरले एक पटकको फुल चार्जमा ९५ किलोमिटरसम्म रेन्ज दिने छ । यसको टप स्पीड भने ७१ किलोमिटर प्रतिघन्टा हुनेछ ।
स्लीक र निकै स्टाइलिस डिजाइनमा रहेको स्कुटरमा पुरा एलइडी लाइट सेटअप, डिआरएल र सुजुकी राइड कनेक्ट एप सहितको ठूलो आकारको कलरफुल टीएफटी डिस्प्ले दिइएको छ ।
साथै, स्मार्टफोन कनेक्टिभिटी सिस्टम, नेभिगेसन, रियल टाइम ट्राफिक अपडेट, मल्टि फङ्सन स्टार्टर स्वीच दिइएको छ । यसमा कारमा पाइने जस्ता फिचरहरु राइडिङ मोड, रिभर्स मोड पनि पाइन्छ । दुबै टायरमा १२ इन्चको अलोय ह्वील, ट्युबलेस टायर, डिस्क ब्रेक र सेलेक्टर-ई(एसडीएमएस-ई) लगायतका सुविधा दिने फिचर छन् ।

