बीवाइडी एटो-३ सुपेरियरभन्दा अब्बल एमजी एस-५, ओमोडा ई-५ कहाँ ?

काठमाडौं । अहिले बजारमा एमजी एस-५ हटकेट ईभी मोडल हो । अत्याधुनिक फिचर र मूल्यको कारण यसले बजारमा अलगै पहिचान बनाएको छ ।

नेपालमा कुनै समयको ईभी च्याम्पियन एमजीले आफ्नो जेडएस ईभीको सक्सेसर मोडलको रुपमा ल्याएको एस-५ निकै अब्बल फिचरहरुको साथमा उपलब्ध छ । त्यसमा उत्कृष्ट मूल्य पाएसँगै प्रतिस्पर्धीको लागि तगडै झट्का त लाग्ने नै भयो ।

चिनियाँ अटोमोबाइल ग्रुप एसएआईसीको स्केलेवल मोडुलर डेडिकेटेड इलेक्ट्रीक प्लेटफर्ममा बनेको एस-५ क्रसओभर मोडलमा रियर ह्वीलमा मोटर दिइएको छ । कम्पनीले यसमा ४९ र ६२ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । जसले ४३० किलोमिटरसम्म रेन्ज दिनेछ ।

अहिले बजारमा यही सेग्मेन्टमा दुई एसयूभी बिक्री भइरहेका छन् । जसमा बीवाइडी एटो-३ सुपेरियर र ओमोडा ई-५ को लग्जरी भेरियन्ट मुख्य प्रतिस्पर्धी हुन् ।

मूल्यको कुरा गरौं

क्रसओभर स्पोर्टी एसयूभीको पहिचान बनाएको एटो-३ सुपेरियरकोे मूल्य ६७ लाख ८० हजार रुपैयाँ छ । ओमोडा ई-५ लग्जरी भेरियन्टको मूल्य ६१ लाख ९९ हजार तोकिएको छ । यी दुई बीच नै झण्डै ६ लाख रुपैयाँको फरक छ ।

समान ब्याट्री साइज, पीकपावर र रेन्ज भएको एमजी एस-५ लग्जरी भेरियन्ट किन्न ५४ लाख ९९ हजार रुपैयाँ भए पुग्छ । अधिकतम खुद्रा बिक्री मूल्यमा बीवाइडी र ओमोडाले राम्रै डिस्काउन्ट दिएर गाडी बेच्दै आएका भएता पनि एस-५ को प्राइस म्याच गर्न सकेका छैनन् ।

ब्याट्री साइज लगभग उस्तै

माथि चर्चा भएका तीन एसयूभीमा सबैभन्दा ठूलो ब्याट्री पनि एमजी एस-५ मै पाउन सकिन्छ । कम्पनीले यसमा ६२ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरेको छ । त्यसपछि ओमोडा ई-५ मा ६१ किलोवाट आवरको एलएफपी ब्याट्री छ ।

बीवाइडीको र ओमोडा ई-५ ब्याट्री टेक्नोलोजी एउटै हो । एटो-३ सुपेरियरमा भने ६०.४८ किलोवाट आवरको ब्याट्री छ । सबैभन्दा पातलो ब्याट्री एमजी एस-५ मा छ । यसको थिकनेस केबल ११० एमएम मात्रै रहेको ब्याट्री निर्माता सीएटीएलले जनाएको छ ।

ब्याट्रीको साइज उस्तै र टेक्नोलोजी पनि उस्तै रहेका एसयूभीको रेन्ज पनि लगभग समान छ । एटो-३ सुपेरियरको डब्लुएलटीपी रेन्ज ४२० किलोमिटर छ । जुन अन्य दुई प्रतिस्पर्धीको भन्दा कम हो । ओमोडा ई-५ र एमजी एस-५ को रेन्ज ४३० किलोमिटरसम्म छ ।

साइजमा प्रतिस्पर्धा

साइजको अधिकांश पारामिटरमा पनि एमजी एस-५ अगाडि देखिन्छ । एस-५ को लम्बाइ ४४७६, चौडाइ १८४९ र उचाइ १६२१ एमएम छ । यसमा २७३० एमएम लामो ह्वीलवेस छ । ग्राउण्ड क्लियरेन्स पनि १८० एमएम पाउन सकिन्छ ।

त्यसपछि बीवाइडी एटो-३ आउँछ । एटो-३ को लम्बाइ ४४५५, चौडाइ १८७५, र उचाइ १६१५ एमएम छ । एस-५ तुलनामा एटो-३ को चौडाइ धेरै छ । यसमा २७२० एमएम लामो ह्वीलवेस छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।

त्यस्तै, ओमोडा ई-५ को लम्बाइ ४४२४, चौडाइ १८३० र उचाइ १५८८ एमएम छ । यसमा २६१० एमएम लामो ह्वीलवेस छ । यसपनि एस-५ को जस्तै १८० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ ।

टायर साइज

तीन वटै मोडलमा समान १८ इन्चको ह्वील छ । ओमोडा ई-५ मा फुल साइज स्पेयर ह्वील छ । अन्य दुई मोडलमा पन्चर किट मात्रै पाउन सकिन्छ ।

टर्क

बीवाइडीले १०० किलोवाट पीकपावरको मोटर दिएर ल्याएको एटो-३ ले ३१० न्यूटन मिटर टर्क दिन्छ । यो फ्रन्ट ह्वील ड्राइभ क्रसओभर हो ।
अर्को फ्रन्ट ह्वील ड्राइभ मोडल ओमोडा ई-५ ले ३२० न्यूटन मिटर टर्क दिन्छ । यसमा रहेको मोटरको पीकपावर ९९ किलोवाट छ ।

एमजी एस-५ मा भने ९९ किलोवाट पीक पावर भएको रियर ह्वील ड्राइभ मोटर छ । यसले २५० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । एमजी एस–५ को टर्क केही कम भएपनि रियर ह्वील ड्राइभ भएका कारण यसको एक्सीलरेशन, हिल क्लाइम्बीङ र टोइङ क्षमता बढि हुन्छ ।

सुरक्षा फिचरमा प्रतिस्पर्धा

तीनैवटै क्रसओभर एसयूभीमा सुरक्षाको लागि ७ वटा एयरव्याग, एडास लेवल २ सहित सम्पूर्ण आधुनिक सुरक्षा फिचर छन् । सबै मोडलमा इन्फोटेन्मेन्ट र ड्राइभर इन्फर्मेसनको लागि छुट्टा छुट्टै स्कृन दिइएको छ ।

बीवाइडी एटो-३ मा गियर सेलेक्टर सेन्टर कन्सोलमा छ । ओमोडा र एमजीले स्टेरिङ ह्वीलकै पछाडि गियर सेलेक्टर दिएका छन् ।

ओमोडा ई५ मा सिंगल प्यानल सनरुफ छ । एटो-३ र एमजी एस-५ मा ठूलो साइजको पानारोमिक सनरुफ पाउन सकिन्छ । अन्य क्याविन फिचरहरुमा हिटेड र भेन्टीलेटेड सिट, अटोमेटिक एसी, पावर फ्रन्ट सिट, लेदरेट सिट कभर, पावर टेलगेट, ३६० डिग्री क्यामरा तीनैवटा एसयूभीमा छन् ।

निष्कर्ष

बीवाइडी एटो-३ नेपाली बजारमा क्रसओभर इलेक्ट्रीक एसयूभीको सेग्मेन्टको मार्केट लिडर हो । विगत ३ वर्षमा एटो-३ ले आफूलाई नेपाली बाटोमा प्रमाणित गरिसकेको छ । तर, ३ वर्षमा पनि फेसलिफ्ट वा नयाँ जेनेरेशन मोडल नआउनु, अहिलेको समयमा प्रतिस्पर्धी भन्दा निकै महंगो हुनु यसको कमजोर पक्ष हो ।

ओमोडा ई-५ छरितो कुप्पे डिजाइन क्रसओभर ईभी हो । साइज र फिचरमा केही कम देखिएपनि फरक डिजाइन र चलाउन निकै स्पोर्टी भएको कारण लन्च भएको १ वर्षमै राम्रो संख्यामा बिक्री पाउन सफल भएको छ । यद्यपि, एमजी एस-५ सँगै तुलना गर्ने हो भने पनि यसको मूल्य बढी हो ।

तीन मोडलमा भएका फिचरलाई केलाएर हेर्दा एमजी एस-५ कम्प्लीट प्याकेज हो । युरोपियन स्पेकमा बिक्री भइरहेको एस-५ को रियर ह्वील ड्राइभ सिस्टम, ६२ किलोवाटको ब्याट्री प्याक र ३ वर्षसम्मको फ्रि कनेक्टीभिटी सुविधाले यसलाई प्रतिस्पर्धी भन्दा निकै उत्कृष्ट बनाएको छ । त्यसैले तीन मध्ये यसलाई ‘भ्यालु फर मनी’ मोडल मान्न सकिन्छ ।


Back_to_top