काठमाडौं । मारुती सुजुकी स्वीफ्टको १५ वर्ष पुरा भएको छ । १५ वर्ष पुरा गरेको अवशरमा कम्पनीले केही महिनाअघि फेसलिफ्ट मोडल बजारमा ल्याएको थियो ।
मारुती सुजुकी स्विफ्ट १५ वर्षदेखि नै प्रिमियम ह्याचव्याक सेग्मेन्टमा राम्रो उपस्थिति जनाउन सफल हुँदै आएको छ । भारतमा सर्वाधिक सफल ह्याचव्याक नेपालमा पनि निकै सफल मानिन्छ ।
विगत १५ वर्षदेखि नेपाली बजारमा विक्री हुँदै आएको स्विफ्ट करिब ८ हजार यूनिट विक्री भएको अनुमान गर्न सकिन्छ ।
विगत १५ वर्षमा कम्पनीले तीन जेनेरेशन परिवर्तन र पटक पटक फेसलिफ्ट मोडल बजारमा ल्याएको छ । अहिले थर्ड जेनेरेशनको फेसलिफ्ट मोडल विक्री वितरण हुँदै आएको छ ।
विभिन्न चरणमा कम्पनीले यसमा गरेको परिमार्जनलाई यहाँ हामीले प्रस्तुत गरेका छौं ।
पहिलो पटक सन् २००५
मारुती सुजुकीले सन् २००५ मा पहिलो जेनेरेशन स्विफ्ट बजामा ल्याएको थियो । ३ हजार ६९६ एमएम लम्बाई १ हजार ६८९ एमएम चौडाई तथा १ हजार ५२९ एमएम उचाई रहेको थियो ।
पहिलो जेनेरेशन मोडलमा २ हजार ४१० एमएमको ह्वीलवेस दिइएको थियो । पहिलो पटक लञ्च हुँदा यसमा अहिलेको जस्तो १.२ लिटरको इन्जिन नभई १.३ लिटरको पेट्रोल इन्जिन रहेको थियो । जसले ८७ पीएस पावर तथा ११३ एनएम टर्क प्रदान गथ्र्यो ।
सन् २००५ मा स्विफ्ट किनै स्टाइलिस र फिचर लोडेड कारको उपमा पाएको थियो । यस कारको पहिलो जेनेरेशन मै एबीएस तथा एयरव्यागको फिचरले यरलाई अन्यको दाँजोमा फरक स्थानमा उभ्याउन सफल भएको थियो ।

फोर सिलिण्डरको पावरफुल इन्जिन तथा फिचर प्याकका साथै स्टाइलिस कार भएकै कारण यसको विक्री निकै बढेको थियो । यो जेनेरेशन मोडल नेपालमा सन् २००६ देखि विक्री भएको थियो ।
सेकेन्ड जेनेरेशन २०११
सन् २०११ मा ह्याचव्याक कारको उच्च माग भएको समयमा मारुती सुजुकीले स्विफ्टको सेकेन्ड जेनेरेशन मोडल बजारमा ल्याएको थियो । त्यति वेला नै रेसिङ डिएनएबाट प्रेरित भएर स्विफ्टको परिमार्जन भएको थियो ।
नयाँ डिजाइननसँगै स्विफ्टले आफुलाई अरु ब्राण्डभन्दा फरक स्थानमा पोजीसनीङ गरेको थियो । उक्त समयमा होन्डाले ज्याज, टाटाको भिस्टा, हुन्डाई आई १० र आई २० तथा ग्लोबल जायन्ट फक्सवागेनले पालोको साथमा बजारमा उपस्थिति जनाइसकेको थियो । अमेरिकी कम्पनी फोर्डको फिगोको पनि राम्रो बजार हिस्सा बनाउन सफल भएको थियो ।
मारुती सुजुकीले फेरि पनि दास्रो जेनेरेशन स्विफ्टबाट बजारमा आफ्नो स्थान राम्रोसँग जमाउन सफल भयो । दोस्रो जेनेरेशन स्विफ्ट आधुनिक डिजाइन र स्पोर्टी लुक्सकै कारण सफल भएको थियो ।
अल व्ल्याक इन्टेरियर फेरि पनि सबैको रोजाइमा पर्यो । सेकेन्ड जेनेरेशन स्विफ्टले इन्जिनमा समेत परिमार्जन गरि नयाँ छरितो १.२ लिटरको पेट्रोल इन्जिन प्रयोग भयो । पहिलाको १.३ लिटर जतिकै पावर तथा अझ धेरै माइलेजको कारण नयाँ इन्जिन धेरैको रोजाइमा पर्यो ।
गाडीको डाइमेन्सनमा बढाइएको कारण क्यावीन थप स्पेसीयस बनाएको थियो । नेपालमा पनि स्वीफ्टको सेकेन्ड जेनेरेशन मोडल सर्वाधिक विक्री भएको थियो । अहिले पनि नेपाली सडकमा गुड्ने स्विफ्टमा सबैभन्दा धेरै सेकेन्ड जेनेरेशन नै रहेको छ ।

तेस्रो जेनेरेशन स्विफ्ट २०१८
मारुती सुजुकीले सन् २०१८ को सुरुवातसँगै तेस्रो जेनेरेशन स्विफ्टको लञ्च गरेको थियो । यो कार सुजुकीको लेटेस्ट हार्टटेक प्लाटफर्ममा निर्माण भएको हो । जसमा सबै आधुनिक सुरक्षाका उपाएहरु अबलम्बन गरेको कम्पनीले दावी गरेको छ । नयाँ स्विफ्टमा धेरै आधुनिक फिचरहरु रहेका छन्, जसका कारण मारुती युवा ग्राहकहरु आकर्षित गर्न सफल भएको छ । यसमा रहेको प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट तथा गन मेटल अलोय ह्वीलले युवावर्गलाई आकर्षित गर्न सफल भएको हो ।
यसको डिजाइनमा पनि पहिलाको मोडलभन्दा परिमार्जन देखिएको छ । स्वीफ्टको चाहना राख्ने ग्राहकलाई यसले तान्न सफल भएको छ ।
क्याविनमा सिङ्गलटोन लेआउट तथा अलव्ल्याक सेडले यसलाई आकर्षक देखाएको छ । पछाडि पट्टी दिएको थप स्पेसले लेगरुमलाई अझ व्यवस्थित गरेको छ । नयाँ फ्ल्याट बटम स्टेरिङ ह्वील, स्पोर्टी टुइनपड इन्स्टुमेन्ट क्लस्टर तथा अटोमेटिक क्लाइमेट कन्ट्रोलले नयाँ स्विफ्टको क्याविनलाई प्रिमियम बनाएको छ ।
मारुती सुजुकीले तेस्रो जेनेरेसनमा इन्जिनलाई थप परिमार्जन गरेको छ भने एएमटी गियरवक्स समेत दिएको छ । यो जेनेरेशनको पहिलो फेसलिफ्ट अहिले नेपाली बजारम विक्री हुँदै आएको छ ।

