भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स इलेक्ट्रीक गाडी उत्पादनमा आक्रामक बन्ने देखिएको छ । टियागो र टिगोरलाई इलेक्ट्रीक भर्सनमा ल्याउने तयारी गरेको टाटाले अल्ट्रोज र एचटूएक्स पनि इलेक्ट्रीक बनाउने घोषणा गरेको छ ।
टाटाले अल्ट्रोज इभी ल्याउने यसअघि नै बताएको थियो । त्यस्तै एचटूएक्स अल्ट्रोजको प्रोडक्सन स्पेकमा तयार गर्ने योेजना टाटाले सार्वजनिक गरेको छ । योसँगै टाटाका इलेक्ट्रीक कार ४ वटा हुनेछन् । टियागो र टिगोर यसअघिनै इलेक्ट्रीक बनाउने घोषणा भइसकेको छ ।
टाटाको फ्यूचर आर्किटेक्चर अल्फा र ओमेगा प्ल्याटर्फममा दुबै इभीमा केन्द्रीत हुने टाटा मोटर्सका म्यानेजिङ डाइरेक्टर तथा सीइओ गुन्टर बुट्स्चेकले बताए । टियागो र टिगोर इभी भन्दा ठूलो रेन्जमा अन्य दुई इभी आउने उनको भनाई छ ।
टाटाले बनाउने अल्ट्रोज प्रिमियम इलेक्ट्रीक ह्याचब्याक कार हुनेछ भने एचटूएक्स कम्पनीको पहिलो इलेक्ट्रीक क्रसओभर एसयूभी हुनेछ । कम्पनीको यो कारले महिन्द्राको इ–केयूभी–१०० सँग प्रतिस्पर्धी गर्ने अनुमान सुरु भएको छ । यो कारले एक पटक फूलचार्ज गर्दा २ सयदेखि २३० किलोमिटर रेन्ज दिने बुट्स्चेकको भनाई छ ।
टाटाले उत्पादन गरेको टिगोर इलेक्ट्रीकलाई सिप्रदी ट्रेडिङगले नाडा अटो शो २०१८ मा नेपाली बजारमा शोकेस गरेको थियो । यसबाट के प्रस्ट हुन्छ भने भारतीय बजारमा टाटाले बनाउने यस्ता इलेक्ट्रीक कार नेपाली बजारमा समेत आउने छन् ।
टाटा मोटर्सका अनुसार कम्पनीले ल्याउने चारवटै इलेक्ट्रीक कारहरुको मूल्य १५ लाख भारुभन्दा कम हुने छन् । यदी १५ लाख भन्दा कम मूल्यमा यी कारहरु आउने हो भने नेपाली बजारमा यसको सबैभन्दा महंगो कारको मूल्य ३५ लाखभन्दा कम हुने अनुमान गर्न सकिन्छ ।

