टाटा र महिन्द्राले ल्याउँदै ३/३ वटा इलेक्ट्रीक एसयूभी

काठमाडौं । भारती अटोमोवाइल ब्राण्ड टाटा र महिन्द्रा बीचको प्रतिस्पर्धा भारतमा रोचक बन्दै गएको छ । टाटाले साना प्यासेन्जर कारसँगै माइक्रो र कम्प्याक्ट एसयूभी बजारमा ल्याएर आफुलाई भारतको तेस्रो ठूलो प्यासेन्जर कार निर्माता बनाएको छ ।

त्यहि महिन्द्रा पनि आफ्नो ठूला एसयूभी र लाइफ स्टाइल एसयूभीको सहायताले तेस्रो स्थानमा उक्लन प्रयास गरिरहेको देखिन्छ । दुबै कम्पनीले मासिक ४० हजार यूनिट माथि प्यासेन्जर कार उत्पादन गर्न थालेका छन् ।

अब यी दुबै कम्पनीले इलेक्ट्रीक कार उत्पादनमा पनि तिब्र प्रतिस्पर्धा गर्ने देखिएको छ । दुबै कम्पनीले एक वर्ष भित्रै ३/३ वटा इलेक्ट्रीक मोडल बजारमा ल्याउने तयारी गरेका हुन् ।

भारत तथा नेपाली बजारमा आक्रामक रुपमा ईभी ल्याइरहेको टाटा मोटर्सले आफ्ना सबै ग्यासोलीन कारलाई इलेक्ट्रीकमा भर्सनमा पनि ल्याउनेगरी काम गरिरहेको छ । यसका अलावा टाटाले नयाँ ‘बर्न ईभी मोडल’मा समेत तिब्र गतिमा काम गरिरहेको छ ।

त्यस्तै महिन्द्राले पनि ईभीका लागि नयाँ ‘इनग्लो स्केटबोर्ड प्लेटफर्म’ विकास गरिसकेको छ । यसमा आधारित रहेर ३ वटा नयाँ ईभी कन्सेप्ट देखाएको महिन्द्राले अहिले भइरहको ग्यासोलीन मोडललाई पनि छिटै ईभीको रुपमा ल्याउने छ ।

टाटाका तीन ईभी

टाटाले माइक्रो एसयूभी सेग्मेन्टमा बिक्री गर्दै आएको पन्चलाई इलेक्ट्रीक भर्सनमा तयार पारेको छ । गत अक्टोबरमा नै बजारमा आउने अनुमान गरिएको पन्च २०२४ को पहिलो क्वाटरमा बजारमा आउने छ ।

यसको लगत्तै मिडसाइज एसयूभी ह्यारीयर र नयाँ मोडल कर्भ ईभी पनि टाटाले बजारमा ल्याउने छ । कम्पनीका तीन वटै मोडल निरन्तर सडक परिक्षण भएका छन् । टाटा मोटर्सले अल्फा प्लेटफर्ममा बनाएको पन्चलाई जीपट्रोन टेक्नोलोजीमा आधारित रहेर ल्याउन लागिएको हो । यसको मूल्य नेक्सन ईभीभन्दा सस्तो हुनेछ ।

त्यसैगरी, कर्भ ईभी र ह्यारीयर ईभी भने प्रिमियम सेग्मेन्टका ग्राहकका लागि बनाइएको हो । यी एसयूभीको रेन्ज ५०० किलोमिटरभन्दा धेरै हुने टाटाले जनाएको छ ।

महिन्द्राका तीन इलेक्ट्रीक मोडल

भारतमा खासै राम्रो बिक्री पाउन नसकेको महिन्द्रा एक्सयूभी ४०० लाई कम्पनीले नयाँ इन्टेरियर र फिचरहरु थपेर ल्याउन लागेको छ । अन्तर्राष्ट्रिय बजारमा निर्यात समेत नभएको यो एसयूभीको अपडेटेड भर्सन लन्च भएपछि नेपाल आउने बताइन्छ ।

त्यस्तै अहिले पेट्रोल इन्जिनमा रहेको एक्सयूभी ३०० को इलेक्ट्रीक भर्सन पनि कम्पनीले २०२४ को दोस्रो क्वाटरमा बजारमा उतार्ने खबर बाहिर आएको छ । यो मोडल एक्सयूभी ४०० भन्दा सस्तो हुनेछ ।

कम्पनीको मिडसाइज एसयूभी ‘एक्सयूभी ७००’मा आधारित ‘ई-८’ मोडल पनि २०२४ को डिसेम्बरमा लन्च हुने जनाइएको छ । ६० किलोवाट आवर र ८० किलोवाट आवरको दुई फरक ब्याट्री प्याकको साथ आउने ‘ई-८’ले सिंगल चार्जमा ५०० किलोमिटर भन्दा बढि रेन्ज दिने अनुमान गर्न सकिन्छ ।


Back_to_top