काठमाडौं । टाटा मोटर्सले कर्भ एसयूभी देखाएको छ । भारतमा आजबाट सुरु भएको भारत मोविलिटी एक्स्पो २०२४ मा कर्भ प्रदर्शनी भएको हो ।
टाटाले कर्भको कन्सेप्ट यसअघि नै देखाएको भएपनि फाइनल उत्पादन मोडल पहिलो पटक देखाएको हो । विशेषगरी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न टाटाले कुप्पे डिजाइनमा कर्भ एसयूभी बजारमा ल्याएको हो ।
नयाँ मोडलले हुन्डाई क्रेटा, सुजुकी ग्राण्ड भिटारा, किया सेल्टोस जस्ता भारतमा सफल मोडलसँग प्रतिस्पर्धा गर्नेछ । पृथक डिजाइनमा तयार भएको कर्भमा नेक्सन फेसलिफ्टमा भएका केही फिचर प्रयोग भएको छ । साथै, ह्यारीयर र सफारी जस्ता ठूला एसयूभीमा प्रयोग भएका फिचर पनि यसमा पाउन सकिन्छ ।
फरक डिजाइनको फ्रन्ट ग्रिल रहेकाे कर्भमा हेडल्याम्प र फगल्याम्प भने सफारी मोडल लिइएको छ । सबै लाइटहरु एलइडी प्रयोग भएको छ भने पछाडि एलइडी लाइटबार पनि पाउन सकिन्छ । कम्पनीले यसमा १८ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, एडास फिचर दिएर ल्याएको हो ।

कर्भ एसयूभीको लम्बाई ४३०८ एमएम, चौडाई १८१० एमएम र उचाई १६३० एमएम रहेको छ । यसमा २५६० एमएमको ह्वीलवेस र ४२२ लिटरको बुट स्पेश पाउन सकिन्छ ।
टाटाले यसलाई ईभी, पेट्रोल, डिजेल र सिएनजी फ्यूलबाट चल्नेगरी ल्याउन लागेको हो । ईभीमा रहने ब्याट्री र मोटर पावरको विषयमा कुनै जानकारी नआएपनि पेट्रोलमा १.२ लिटर टर्बो र डिजेलमा १.५ लिटर क्षमताको इन्जिन रहने छ ।
अप्रिलबाट उत्पादन सुरु हुने कर्भ वार्षिक ४८ हजार यूनिट उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमध्ये १२ हजार यूनिट ईभी र अन्य पावरट्रेनमा ३६ हजार यूनिट उत्पादन हुनेछ ।


