टाटा मोटर्सको बहुप्रतिक्षित मोडल ह्यारीयर डिसेम्बरमा ग्लोबल प्रिमयर हुने भएको छ । कम्पनीले ग्लोवल प्रिमियर अगाडि बिभिन्न चरणका परिक्षणहरु जारी राखेको भेटिएको छ ।
खराब बाटो, पानी, स्पीडलगायतका टेष्ट पुरागरेको जनाइएको ह्यारीयरलाई कम्पनी हाईअल्टीच्युट क्षेत्रमा पनि परिक्षण गरिरहेको भिडियो सार्वजनिक भएको छ ।
कम्पनीले ह्यारीयरलाई ५ र ७ सिट अप्सनमा बजारमा ल्याउने छ । नयाँ ओमेगा प्ल्याटफर्ममा बनाइएको यो कारको प्ल्याटर्फम ल्यान्डरोभर डिस्कभरी स्पोर्टको एलएस५५० बाट लिइएको हो ।
टाटाले ह्यारीयरमा अल न्यू २।० लिटर क्यारोटेक टर्बोचार्जड डिजल इन्जिन दिएको छ । ४ सिलिन्डर इन्जिन रहेको यो गाडी कुनैपनि बाटोमा चलाउन उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ । उक्त इन्जिनले १४० पीएस पावर र ३२० एनएम टर्क उत्पादन गर्ने छ भने यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड एटोमेटिक ट्रान्समिसन दिइएको छ ।
सुरक्षाको लागि एबीएस, इबीडी, एयरब्याग, हिल डिसेन्टकन्ट्रोल, ट्याक्सन कन्ट्रोललगायतका फिचर उपलब्ध रहने छन् ।
टाटा ह्यारीयरमा प्रिमियम क्यावीनको साथ मल्टी फिचर दिइएको बताइएको छ । नयाँ इन्फोटेन्टमेन्टका साथ हर्मन कार्डन म्युजिक सिस्टम यसमा दिइएको छ । जनवरी २०१९ बाट बजारमा आधिकारीकरुपमा आउने यो कारको मूल्य १२ लाख भारतीय रुपैयाँको हारहारीमा हुने अनुमान गरिएको छ ।
टाटा मोटर्सको लागि नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा ह्यारीयर भारतीय बजारमा सार्वजनिक भएको केहि समयपछि नेपाली बजारमा ल्याउने जनाएको छ ।

