काठमाडौं । टाटा मोटर्स इन्डियाले जनवरी २०२६ को बिक्री तथ्यांक सार्वजनिक गरेको छ । टाटा मोटर्सले अहिलेसम्मकै रेकर्ड बिक्री तथ्यांक बाहिर ल्याएको हो ।
अघिल्लो महिना टाटा सियरा एसयूभी बजारमा ल्याएसँगै ठूलो संख्यामा बिक्री बढाउने अपेक्षा अनुसार नै जनवरीमा ७१ हजार ६६ युनिट कार होलसेल बिक्री गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
टाटाको यो बिक्री अघिल्लो वर्षको जनवरीको तुलनामा ४७.१ प्रतिशतले धेरै हो । सन् २०२५ जनवरीमा टाटाले ४८ हजार ७६ युनिट कार बिक्री गरेको थियो । कम्पनीले निर्यात पनि बढाउँदै लगेको छ । टाटाले जनवरी २०२६ मा ८४४ युनिट निर्यात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४० युनिट मात्रै निर्यात गरेको थियो ।
कम्पनीले ईभीको बिक्रीमा पनि ७२.७५ प्रतिशतले वृद्धि गरेको छ । सन् २०२५ मा ५ हजार २४० युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको कम्पनीले जनवरी २०२६ मा ९ हजार ५२ युनिट ईभी बिक्री गर्न सफल भएको हो ।

