काठमाडौं । टाटाको बहुप्रतिक्षित एसयूभी नेक्सनको बुकिङ खुल्ला हुने भएको छ । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आगामी हप्ताबाट बुकिङ खोल्न लागेको हो ।
कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी जुलाई महिनाबाट डेलिभरी दिने योजनासहित बुकिङ खोल्न लागेको हो ।
‘नेक्सन इभी नेपाल आउने पक्का भएको छ । आगामी हप्ताबाट हामी बुकिङ खोल्छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
यसको मूल्यको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपी भारतमा विक्री भइरहेको तीन वटै भेरियन्ट नेपाल आउने जनाइएको छ । भारतमा नेक्सन इभीको एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरि तीन भेरियन्टमा उपलब्ध रहेको छ ।
यी तीन भेरियन्टको मूल्यमा पनि करिब ३ लाख रुपैयाँको फरक हुने अनुमान गर्न सकिन्छ । कम्पनीले कुनै जानकारी नदिएपनि यसको मूल्य ३८ लाखदेखि ४४ लाख रुपैयाँ भित्रै रहने अनुमान गर्न सकिन्छ ।

नेक्सन इभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल र २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
यसको इन्टेरियरमा ट्राइयरो थिम पाउन सकिन्छ । लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।
सुरक्षाको हिसावले पनि नेक्सन इभी उत्कृष्ट रहेको टाटा मोटर्सको दाबी छ । पेट्रोलियम पदार्थबाट चल्ने नेक्सन भारतको ५ स्टार रेटिङ सब फोर मिटर एसयूभी रहेको र त्यहि बराबरको सुरक्षा फिचर यसमा पनि रहेको टाटाको दावी छ ।
टाटाले जिपट्रोन प्ल्याटफर्ममा तयार गरेको नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ भने, यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । एआरएआईको अनुसार एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिने प्रमाणित गरिएको छ ।


