नेक्सन ईभी ५ भेरियन्टमा विक्री हुँदै, चाँडै म्याक्स मोडल नेपाल आउँदै (मूल्यसहित)

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको टाटा नेक्सन ईभी अहिले सर्वाधिक विक्री हुने मोडल हो । पछिल्ला महिनामा औषत ३ सय यूनिटका दरले विक्री हुँदै आएको नेक्सन अहिले पनि सबैभन्दा धेरै खरिद हुने कार हो ।

टाटा नेक्सन ईभी कम्बस्चनको तुलनमा कम मूल्य भएकै कारण धेरै मानिसले किन्दै आएका छन् । भारतीय बजारमा कम्बस्चन भन्दा दोब्बर महंगो र नेपालमा कम्बस्चनभन्दा सस्तो भएकै कारण धेरै ग्राहकले नेक्सन ईभी किन्दै आएका हुन् ।

नेपाल सरकारले विद्युतीय गाडीको प्रयोग बढाउन भन्सारमा सहुलियत र १०० किलोवाट क्षमतासम्मका मोटर प्रयोग भएका गाडीमा अन्तःशुल्क नलगाएका कारण कम्बस्चनको तुलनामा ईभी सस्तो भएको हो । टाटा नेक्सन स्टाइलिस डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स, टाटाको ठूलो सेल्स र सर्भिस नेटवर्कको कारण धेरै ग्राहकले खरिद गरेका हुन् ।

सिप्रदीले नेपालमा नेक्सन ईभीसँगै फास्ट चार्जर निर्माण अग्रसरता देखाएर ग्राहकलाई रेन्जको कारण उत्पन्न हुने डर हटाउन काम गरेको कारण नेक्सन ईभी मानिसले ढुक्कसँग खरिद गरेका हुन् ।

नेक्सन ईभीमा ३० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । कम्बस्चन इन्जिन भएको नेक्सनको लगभग समान डिजाइन र फिचर रहेको ईभी थप हाइटेक रहेको छ ।

ग्राहकको बीचमा निकै लोकप्रिय रहेको नेक्सनको लङ रेन्ज मोडल म्याक्स पनि नेपाल आउने भएको छ । कम्पनीले नेपाल ल्याउने तयारी थालेको म्याक्स मोडलमा ४० किलोवाट आवरको ब्याट्री रहने छ । भारतमा विक्री हुँदै आएको नेक्सन म्याक्समा १०० किलोवाटभन्दा माथिको मोटर प्रयोग भएको छ । नेपाल कुन साइजको मोटरमा आउँछ र मूल्य कति पर्छ भन्ने विषयमा सिप्रदीले कुनै जानकारी दिएको छैन ।

नेपालमा उपलब्ध ५ मोडलको मूल्य

सिप्रदीले अहिले नेपाली बजारमा नेक्सन प्राइमको ३ भेरियन्ट र डार्क एडिसनको २ भेरियन्ट विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्दै आएको नेक्सन प्राइम एक्सएम भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो नेक्सन ईभीको इन्ट्री भेरियन्ट हो ।

त्यस्तै एक्सजेड भेरियन्टको ४० लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नेक्सन ईभी डार्क एडिसन दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले डार्क एडिसनमा एक्सजेड प्लस भेरियन्टको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने एक्सजेड लग्जरी प्लस भेरियन्टको ४३ लाख ९९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।


Back_to_top