आयात खुलेसँगै नेपाल आए ६ नयाँ मोडल, मूल्य ३० लाखदेखि २ करोड ४० लाख

काठमाडौं । नेपाल सरकारले २०७९ वैशाख १४ गतेदेखि मंसिर मसान्तसम्म निजी प्रयोजनको लागि आउने पेट्रोलियम पदार्थबाट चल्ने कार, जीप, भ्यान लगायत सवारीसाधन आयात प्रतिबन्ध लगाएको कारण नयाँ मोडल आउन पाएको थिएन ।

सरकारले पुष १ गतेबाट आयात खुल्ला गरेसँगै नयाँ नयाँ मोडल नेपाल आउन थालेका छन् । पुसमा कुनै पनि ब्राण्डले नयाँ मोडल नल्याएपनि माघबाट भने नयाँ मोडल नेपाल आउन थालेका छन् । माघपछि अहिलेसम्म विभिन्न ब्राण्डले ६ नयाँ मोडल नेपाल ल्याएका छन् ।

लामो आयात प्रतिबन्ध खुल्ला भएसँगै सबैभन्दा पहिला नेपाल आएको मोडल हुन्डाई भेन्यू फेसलिफ्ट हो । त्यसपछि महिन्द्राको एक्सयूभी७००, फोर्ड एभरेष्ट, सुजुकीको ग्रान्ड भिटारा, हुन्डाई ग्रान्ड आइ१० नियोस र जीप मेरिडियन नेपाल आइसकेका छन् ।

हुन्डाई भेन्यू फेसलिफ्ट

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भेन्यू फेसलिफ्ट माघमै नेपाल ल्याएको हो । फेसलिफ्ट भेन्यूमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ ।

कम्पनीले हुन्डाई भेन्यू फेसलिफ्टको ई भेरियन्टको मूल्य ४० लाख ९६ हजार, एस भेरियन्टको ४६ लाख ९६ हजार, एसएक्स भेरियन्टको मूल्य ५६ लाख ९६ हजार र एस(ओ)डीसिटी भेरियन्टको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेर विक्री वितरण गर्दै आएको छ ।

नयाँ भेन्यूमा अमेजन एलेक्सा र गुगल भोइस असिस्ट सहितको ‘होम टु कार कनेक्टीभिटी’ पाउन सकिन्छ । यसमा कन्ट्रोल सेलेक्ट कार फिचर, रिमोट क्लाइमेट कन्ट्रोल, रिमोट डोर लक र अनलक फिचर, रिमोट भेहिकल स्टाटस चेक, फाइन्ड माइ कार, टायर प्रेसर इन्फरमेसन, फ्यूल लेभल इन्फरमेसन, स्पीड अलर्ट, टाइम फेन्सिङ अलर्ट, आइडल टाइम अलर्ट जस्ता फिचर समावेश भएका छन् ।

महिन्द्रा एक्सयूभी–७००

महिन्द्राको लागि नेपालको आधिकारिक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ७०० एसयूभीको विक्री वितरण सुरु गरेको छ । कम्पनीले यो गाडी गत माघ १६ गते एक कार्यक्रमको आयोजना गर्दै औपचारिक विक्री सुरु गरेको हो ।

महिन्द्राले एक्सयूभी–७०० नेपाली बजारमा ५ र ७ सिट क्षमतामा ल्याएको छ । कम्पनीले यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ ।

महिन्द्रा एक्स्यूभी ७०० मा ‘एड्रिनोएक्स’ कनेक्ट फिचर पाउन सकिन्छ । बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम र प्रयोग गर्न सजिलो रहेको महिन्द्राको दावी छ । एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु उपलब्ध रहेको छ । यही सिस्टमको कारण चालकलाई सधैँ सजग गराउन मद्दत पुग्ने छ । यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई निर्देश गर्नेछ ।

कम्पनीले एक्सयूभीको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स५ को ८१ लाख र अर्को एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटीक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको हो ।

जीप मेरिडियन

अमेरिकी सवारी निर्माता कम्पनी जीपको मेरिडियन नेपाल आइपुगेको छ । जीप ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल्स प्रालिले यो एसयूभी नेपाल ल्याएको हो ।

नेपाल आएको जीप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । यसले १७० पिएस पावर र ३५० एनएम टर्क प्रदान गर्छ । यसमा ९ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ । यसमा फोर ह्विल ड्राइभ अप्सन पाउन सकिन्छ ।

यसमा १०.१ इन्चको फराकिलो इन्फोटेन्मेन्ट सिस्टमको साथमा १०.२ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल प्यानल सनरुफ, वायरलेस चार्जिङ, ३६० डिग्री भ्यु क्यामेरा, इलेक्ट्रिकल्ली एडजस्ट गर्न मिल्ने सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल लगायतका सुविधा उपलब्ध छन् ।

जीप मेरिडियनमा सुरक्षाको लागि एबिएस, टायरको प्रेसर ठिक भए नभएको जाँच गर्ने प्रविधि, इलेक्ट्रोनिक पार्किङ ब्रेक, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, ६ वटा एयरब्याग पाउन सकिन्छ ।

लाइफ अटोमोवाइलले मेरिडियनको एउटा मात्रै भेरियन्ट लिमिटेड (अप्सनल) उपलब्ध गराएको छ । यसको मूल्य १ करोड ८० लाख ९० हजार तोकिएको छ ।

फोर्ड एभरेष्ट

फोर्डको आधिकारीक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले नयाँ संस्करणको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ नेपाल ल्याएको हो । निकै पावर फुल इन्जिन र स्टाइलिस डिजाइनमा आएको नेक्स्ट जेन फोर्ड एभरेष्टमा २.० लिटर क्षमताको वाई टर्बो डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्छ । यसमा १० स्पीड क्षमताको अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।

यसमा फराकिलो स्पेश, आकर्षक ड्यासबोर्ड, वायरलेस चार्जिङ, इलेक्ट्रीक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू पाउन सकिन्छ। यो एसयूभीमा १२ इन्चको टचस्क्रिन, १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, ड्राइभर असिस्ट टेक्नोलोजी, एक्टिभ पार्क असिस्ट २.०,स्टप एण्ड गोको साथमा नयाँ क्रुज कन्ट्रोल समेत पाउन सकिन्छ।

कम्पनीले यसको मूल्य २ करोड ४० लाख रुपैयाँ तोकेर विक्री सुरु गरेको छ ।

सुजुकी ग्रान्ड भिटारा

सिजी मोटोकर्पले ग्राण्ड भिटारा नयाँ मोडल नेपाल ल्याएको छ । दुई फरक इन्जिनमा आएको ग्राण्ड भिटारा ई–ड्राइभ सिस्टम भएको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनस एसी मोटरमा उपलब्ध छ । उक्त इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ । यसको माइलेज अविश्वसनीय छ । कम्पनीले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज रहने दाबी गरेको छ । यसमा ई–सीभीटी गियरबक्समा उपलब्ध रहेको छ ।

ग्राण्ड भिटाराको अर्को नेचुरल्ली एस्पिरेटेड १.५ लिटर फोर सिलिण्डर, के १५ सी ड्यूलजेट पेट्रोल इन्जिन भएको भेरियन्टमा उपलब्ध छ । उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले भिटारामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ ।

सेफ्टी फिचरको रुपमा टप स्पेक भिटारामा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम र चारवटै चक्कामा डिस ब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध रहेका छन् ।

हुन्डाई ग्रान्ड आइ१० नियोस

नेपालमा सर्वाधिक सफल मध्येको एक कार हुन्डाई आई १० को नयाँ संस्करण नियोसको फेसलिफ्ट मोडल नेपाल आएको छ । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आई १० नियोसको फेसलिफ्ट मोडल विभिन्न ४ भेरियन्टमा उपलब्ध गराएको हो ।

ग्राण्ड आई १० नियोस फेसलिफ्ट ईरा, म्याग्ना, म्याग्ना एएमटी र स्पोर्टज भेरियन्टमा उपलब्ध रहेको छ । यसको सुरुवाती मूल्य २९ लाख ९६ हजारदेखि टप भेरियन्टको मूल्य ३७ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ।

अपडेटेड भर्सनमा आएको कम्प्याक्ट ह्याचब्याकको बाहिरी भागमा ठूलो फ्रन्ट ग्रिल दिइएको छ भने यसमा एलइडी डेटाइम रनिङ लाइट नयाँ प्रयोग गरिएको छ । अगाडिको बम्पर र नयाँ डिजाइनमा तयार पारिएको १५ इन्चको डायमण्ड–कट एलोय ह्वील पाउन सकिन्छ ।

सुरक्षाको लागि चार वटा एयरब्यागसँगै टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट, क्रुज कन्ट्रोल, आइएसओफिक्स चाइल्ड सिट माउन्ट, टाइप–सी चार्जिङ पोर्ट लगायतका फिचर्स समावेश गरिएको छ ।

हुन्डाईले यसमा आफ्नो चर्चित कप्पा इन्जिनको प्रयोग गरेको छ । यो गाडीमा कम्पनीले नेचुरल्ली एस्पीरेटेड १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसमा म्यानुअल र अटोमेटीक गियरबक्स अप्सन पाउन सकिन्छ ।


Back_to_top