तीन दिनपछि विक्री सुरु हुँदै नेक्सन म्याक्स, १०० किलोवाटको मोटरमा आउने

काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल आगामी मंगलवारबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले भारतमा विक्री सुरु भएको करिब १ वर्षपछि नेक्सन म्याक्स विक्री सुरु गर्न लागेको हो ।

कम्पनीले ल्याउने नेक्सन म्याक्समा पनि अहिले विक्री भइरहेको रेगुलर मोडलकै मोटर रहने छ । नेपालमा १०० किलोवाटभन्दा माथिको मोटर क्षमतामा धेरै कर लाग्ने भएको कारण नेक्सन म्याक्सको पनि मोटर साइज घटाएर ल्याउन लागिएको हो । टाटाले भारतमा विक्री गर्ने नेक्सन म्याक्समा १०५ किलोवाट क्षमताको मोटर छ ।

अहिले विक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र फिचर लोडेड मोडल हो । टाटाले नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ । एआरएआईका अनुसार यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुईवटा भेरियन्टमा लन्च भएको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन दिएको छ । यसमा स्ट्याण्डर्ड ३.३ र अर्को ७.२ किलोवाट क्षमताको दुई फरक अनवोर्ड चार्जर पाउन सकिन्छ ।

नेक्सन म्याक्सलाई ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा जम्मा ६ घण्टामै फुल चार्ज हुनेछ ।

नेक्सन म्याक्समा प्राइम मोडलको भन्दा केही अन्य फिचरहरु समेत थप भएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि छन् ।

त्यस्तै, सुरक्षाका लागि म्याक्समा ईएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रुज कन्ट्रोलको पनि सुविधा पाउन सकिन्छ ।

तीन दिनपछि नेपालमा विक्री सुरु गर्ने तय भएपनि सिप्रदी ट्रेडिङले अहिलेसम्म यसको मूल्यको विषयमा कुनै जानकारी दिएको छैन ।


Back_to_top