काठमाडाैं । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयुभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक विक्री भएको एसयुभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्रा, मारूतीका एसयूभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।
टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा हुन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयूभी बिक्री गरेको छ । यो भनेको गत वर्षको सोही महिनाको समग्र विक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । टाटाले सन् २०२१ को फेब्रुअरीमा भने जम्मा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो ।
प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसयूभी हो ।नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सबफोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित भएका कारण धेरैको रोजाइमा पर्न सफल छ । साथै, नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारहरु मध्ये पर्दछ ।
फेब्रुअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू विक्री गरेर परेको छ। जुन भनेको गत वर्षको सोही महिनाको समग्र विक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो ।
यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै विक्री हुने एसयूभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ। टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गर्यो । कम समयमै ग्राहकहरुको मन जितेर युवा देखि वृद्धसम्म सबैको रोजाईमा पर्दै आइरहेको यो एसयूभी सुरक्षाको मामिलामा फाइभ स्टार रेटिङ्ग पाउने उत्कृष्ट गाडीमा पर्न सफल भएको छ ।
बिगतका केहि महिना लगातार टाटा मोटर्सले आफ्नो विक्री मजबूत गर्दै अन्य गाडीहरु पनि शिर्ष स्थानमा पुर्याउदै लगेको छ ।

