बाहिरियो टाटा सियराको वास्तविक माइलेज, पेट्रोलभन्दा डिजेल इन्जिनको धेरै

काठमाडौं । टाटाले गत नाभेम्बरमा बजारमा ल्याएको सियर एसयूभीको वास्तविक माइलेज विवरण बाहिरिएको छ ।

कम्पनीले गाडी सार्वजनिक गरे पनि यसको अटेमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआइ) प्रमाणित माइलेज आधिकारिक रूपमा खुलाएको थिएन ।

तर, ट्विटर प्रयोगकर्ता वाहन वार्ताले सूचनाको हक अन्तर्गत जानकारी मागेपछि माइलेज विवरण बाहिरिएको हो। एआरएआइबाट प्राप्त सूचनाको जवाफ अनुसार सियराको पेट्रोलभन्दा डिजेल इन्जिनले धेरै माइलेज दिएको पाइएको छ ।

सियरा एसयूभीको १.५ लिटर टीजीडीआइ हाइपरियन पेट्रोल इन्जिनले प्रतिलिटर १३ किलोमिटर माइलेज दिन्छ । जबकि, १.५ लिटर क्रायोजेट डिजेलले प्रतिलिटर १८.८ किलोमिटर माइलेज दिने जानकारी प्राप्त भएको हो ।

रोचक कुरा के छ भने १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल भेरियन्टको अहिलेसम्म एआरएआइ प्रमाणपत्र जारी गरिएको छैन। डिजेल इन्जिनले २१ नोभेम्बर २०२५ मा आफ्नो एआरएआइ प्रमाणीकरण प्राप्त गरेको थियो भने टर्बो पेट्रोल इन्जिनले ११ डिसेम्बर २०२५ मा प्रमाणीकरण पाएको थियो ।

कम्पनीले लन्चको समयमा टाटा मोटर्सले सियराको १.५ लिटर हाइपरियन पेट्रोल इन्जिनले धेरै माइलेज दिने दाबी गरिएको थियो । कम्पनीले इन्दोरको नाट्रयाक्स परीक्षण केन्द्रमा १२ घण्टाको दौडमा प्रतिलिटर २९.९ किमी माइलेज पाउँदै ‘इन्डिया बुक अफ रेकड्र्स’ उपलब्धि हासिल गरेको घोषणा गरेको थियो।

आधिकारिक रूपमा माइलेजको विवरण सार्वजनिक नगरिए तापनि टाटा सियराको बजारमा उच्च माग देखिएको छ । कम्पनीले बुकिङ खुलाएको २४ घण्टामै ७० हजारको अर्डर पाएको थियो । हाल बुकिङ १ लाख युनिट बढी नाघिसकेको छ भने वेटिङ पिरियड ६ महिना बढी पुगेकाे छ ।

कम्पनीले गत जनवरी १५ देखि सियराको डेलिभरी सुरू गरेको थियो । टाटा सियराले डेढ महिनामै १० हजार युनिटको डेलभरी माइलस्टोन पूरा गरेको थियो । टाटाले हाल गुजरातको सानन्द प्लाण्टमा धमाधम सियरा एसयूभी उत्पादन गरिरहेको छ । कम्पनीले सुरूमा मासिक ७ हजार ५०० युनिट उत्पादन गर्ने योजना बनाएको थियो । तर, अत्यधिक बुकिङ भएपछि कम्पनीले मासिक १२ देखि १५ हजार युनिट उत्पादन गरिरहेको छ ।

सियरा टाटाको नयाँ प्लेटफर्म, नयाँ टेक्नोलोजी र मोर्डन डिजाइनमा बनेको एसयूभी हो । यसको अगाडिको भाग पुरानो मोडेलभन्दा पूर्ण रूपमा फरक देखिन्छ ।

बक्सी तथा मस्कुलर बडी डिजाइन भएको टाटा सियराको अगाडि एलईडी डीआरएल, स्प्लीट हेडल्याम्प र पछाडि कनेक्टेड एलईडी टेललाइट दिइएको छ । त्यस्तै, सियरामा ठूलो १९ इन्चको अलोय ह्वील, फ्लस ढोका ह्याण्डल, सिल्हुट कर्नरिङ फग लाइट जडान गरिएको छ ।

टाटाले सियरा एसयूभीमा कम्पनीकै सबैभन्दा धेरै टेक फिचर उपलब्ध गराएको छ । यसमा ट्रिपल स्क्रीन ड्यासबोर्ड रहेको छ । १२.३ इन्चको दुइटा र १०.२५ इन्चको एउटा टचस्क्रीन राखिएको छ ।

सियरामा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले स्टीयरिङ९माउन्ट, डुअल जोन क्लाइमेट कन्ट्रोल, चंकी स्टीयरिङ ह्वील लेदरेट, भेन्टिलेटेड फ्रन्ट सिट, प्रिमियम अडियो सिस्टम, प्यानोरामिक सनरुफ, एम्बियन्ट लाइटिङ अगाडि र पछाडिको आर्मरेस्ट, पछाडिको एसी भेन्टहरू, आइआरभीएम छ ।

यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, ईएससी, ३६० डिग्री क्यामेरा, लेभल २ एडास, क्रुज कट्रो, स्वचालित इमरजेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपाचर अलर्ट लगायत फिचर छन् ।

नयाँ सियराको इन्जिन पहिलाको भन्दा पावर फुल छ । यसमा १.५ लिटर क्षमताको डाइरेक्ट इन्जेक्सन टर्बो चाज्र्ड पेट्रोल इन्जिन छ । उक्त इन्जिनले १७० हर्सपावर र २८० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको म्यानुअल र ७ स्पीडको अटोमेटिक गियरबक्स छ । डिजेल इन्जिन भने २.० लिटरमा छ ।

नेपाली बजारमा पनि टाटा सियरा चाँडै आउने बताइएको छ ।


Back_to_top