५ महिनामा २३ हजारले पाए क्यूआरसहितको लाइसेन्स

काठमाडौं । पछिल्लो ५ महिना २३ हजार जनाले क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र पाएका छन् ।

सुरक्षण मुद्रण केन्द्रले गत कात्तिक २१ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स छपाइ सुरू गरेको हालसम्म २३ हजार लाइसेन्स प्रिन्ट गरी वितरण गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईँले मंगलबार आफ्नो ७५ दिनको कार्यकालमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार १ लाख लाइसेन्स छपाइका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच समझदारी सम्पन्न भएकोमा हालसम्म २३ हजार १०६ थान प्रिन्ट गरी वितरण भएको हो ।

केन्द्रले हाल दैनिक रुपमा माग हुने अत्यावश्यक लाइसेन्स मात्रै छापेर उपलब्ध गराउँदै आएको छ । यातायात व्यवस्था विभागले २ लाख लाइसेन्सको ब्लक डाटा पठाए पनि छापेर पठाएको छैन । विभागले माघदेखि दैनिक १० हजार थान लाइसेन्स छाप्ने भने पनि पठाएको २ लाख थान नआएको विभागका अधिकारीहरू बताउँछन् ।

मुद्रण केन्द्रले भने विभागबाट सबै डाटा पाएपछि एकैलटमा सबै लाइसेन्छ छापने बताएको छ । केन्द्रकाे  प्रिन्टिङ क्षमता दैनिक २० देखि २५ हजार थान रहेको छ ।

केन्द्र र विभाग बीच गत कात्तिक दोस्रो साता ६ महिना भित्र १२ लाख लाइसेन्स छाप्ने स्म्झौता भएको थियो । सो अनुसार आगामी वैशाख दोस्रो सातासम्म सबै लाइसेन्स छापिसक्नुपर्नेछ ।


Back_to_top