काठमाडौं । टाटा मोटर्स इन्डियाले विद्युतीय कार (ईभी) बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले पहिलो पटक १ महिनामै १० हजार युनिट बढी ईभी बिक्रीको रेकर्ड बनाएको हो
सार्वजनिक तथ्यांक अनुसार टाटाले सन् २०२६ को मेमा कुल १० हजार ५१७ युनिट ईभी बिक्री गरेको हो । यो टाटाले हालसम्म प्राप्त गरेको सबैभन्दा ठूलो बिक्री सफलता हो ।
गत वर्षको मेको तुलानमा यस वर्ष टाटाको ईभी बिक्री ८५ प्रतिशतले बढेको हो । २०२५ मेमा जम्मा ५६८५ युनिट ईभी बिक्री गरेको थियो ।
टाटाले एकपछि अर्को अपडेटेड मोडल ल्याएसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो । टाटाले फेब्रुअरीमा पन्च ईभी फेसलिफ्ट ल्याएको थियो भने गत साता टिगायो ईभीको फेसलिफ्ट ल्याएको छ । चाँडै नयाँ मोडल सियरा ईभी पनि बजारमा ल्याउँदै छ । यी बाहेक टाटाका टिगोर, नेक्सन, कर्भ, ह्यारियर ईभी उपलब्ध छन् ।
ईभीको बिक्री बढेसँगै टाटाको कुल प्यासेन्जर कार बिक्रीमा पनि छलाङ मारेको छ । कम्पनीले सन् २०२६ को मेमा मात्रै कुल ५९ हजार ७९० युनिट कार बिक्री गरेको छ ।
यो गत वर्ष सन् २०२५ को सोही अवधिको तुलनामा ४२.२२ प्रतिशत धेरै हो । टाटाले गत वर्ष मेमा कुल ४२ हजार ४० युनिट कार बिक्री गरेको थियो । गत वर्ष मेको तुलनामा यस वर्ष १७ हजार ७५० युनिट धेरै बेच्न सफल भएको हो । टाटा सियरा एसयूभी बजारमा ल्याएसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो ।
मेमा टाटाको व्यापार घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बढेको हो । टाटाले मेमा भारतमा मात्रै ५९ हजार ९० युनिट कार बेचेको छ । यो गत वर्षको तुलनामा ४२.१९ प्रतिशत धेरै हो । गत वर्ष मेमा ४१ हजाार ५५६ युनिट कार बेचेको थियो ।
त्यस्तै, निर्यात ४४.९३ युनिट बढेर ७०० युनिट पुगेको छ । गत वर्ष मेमा ४८३ युनिट कार विदेश पठाएको थियो ।


