भारतमा टाटा र हुन्डाईको रोचक भिडन्त, सानो एसयूभी ल्याउँदै हुन्डाई

काठमाडौं । भारतमा टाटा मोटर्स र हुन्डाई मोटर्स बीच तीब्र प्रतिस्पर्धा सुरु भएको छ । गलवान घाँटीमा चीन र भारतीय सेना बीच चर्केको द्धन्द्धले भारतीय ब्राण्ड टाटा र महिन्द्रालाई भारतमा बलियो बनाउँदै लगेको हो ।

एक वर्षअघिसम्म करिब ६ प्रतिशत हाराहारी बजार हिस्सा रहेको टाटाले अहिले करिब १४ प्रतिशत हाराहारी बजार हिस्सा पुर्याएको छ । यसरी टाटाले आफ्नो बजार हिस्सा बढाउँदा कोरियन ब्राण्ड हुन्डाईले थोरै बजार हिस्सा गुमाएको छ । सबैभन्दा धेरै बजार हिस्सा भने मारुती सुजुकीले गुमाएको देखिन्छ । एसयूभी सेग्मेन्टमा ब्रेजा बाहेक अर्को मोडल नहुनु मारुती सुजुकीको लागि घातक बन्दै गएको छ ।

टाटाको बजार हिस्सा बढ्नुमा प्रमुख दुई कारण छन् । पहिलो कारण टाटाले बनाएका गाडी ग्लोबल एनक्यापमा फाइभ स्टार रेटिङ पाउन सफल हुनु हो । यसलाई कम्पनीले राम्रै ब्राण्डिङ गरेको बुझ्न सकिन्छ । दोस्रो बजारको माग अनुसार साना एसयूभीको उत्पादन गर्न सक्नुलाई लिइन्छ ।

टाटाले अहिले मासिक ३० हजार यूनिट माथि एसयूभी विक्री गर्दै आएको छ । साथै, ८ हजार हाराहारी ह्याचव्याक, २ हजार हाराहारी सेडान र ३ हजार ५ सय हाराहारी इलेक्ट्रीक कार विक्री गर्दै आएको छ । समग्रमा कम्पनीले ४० हजारदेखि ४५ हजार यूनिट कार भारतमा विक्री गर्न थालेको छ । टाटाले बेच्ने सबैभन्दा ठूलो हिस्सा नेक्सन र माइक्रो एसयूभी पन्चले लिएको छ ।

हुन्डाई भारतको लागि पुरानो खेलाडी हो । सन् १९९८ देखि भारतीय बजारमा रहेको हुन्डाईले करिब १५ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले भारतमा औषत मासिक ४८ हजार यूनिट कार विक्री गर्दै आएको छ । स्थानीय विक्रीमा टाटा र हुन्डाई बीच कडा टक्कर देख्न सकिन्छ । हुन्डाईले आफ्नो दुई एसयूभी क्रेटा र भेन्यू राम्रो संख्यामा विक्री गर्दै आएको छ । यी दुई मोडलले हुन्डाईको कुल विक्रीमा करिब ५० प्रतिशत बजार हिस्सा लिएका छन् ।

यी दुई मोडलको अलावा ग्राण्ड आई १० नियोस, आई २० इलाइट, अउरा, भर्ना, टुसान जस्ता मोडल विक्री गर्दै आएको छ । अहिले भएका मोडलको विक्रीमा मात्रै सिमित नबस्ने निर्णय यसअघि नै कम्पनीले सुनाइसकेको छ । हुन्डाईले सन् २०२३ मा माइक्रो एसयूभी बजारमा ल्याउने योजना बनाए काम गरिरहेको छ । आउने नयाँ उत्पादनले एसयूभी सेग्मेन्टमा हुन्डाईलाई थप बलियो बनाउने छ ।


Back_to_top