काठमाडौं । नेपालमा विद्युतीय कारको बिक्री सन् २०१० देखि सुरू भएको हो । तर, यसको संख्यात्मक बिक्री भने त्यसको ८ वर्षपछि अर्थात् सन् २०१८ देखि सुरू भएको देखिन्छ ।
सन् २०२२ बाट भने बजारमा पेट्रोलियम पदार्थबाट चल्ने कारलाई विद्युतीय कारले ‘ओभर टेक’ गरेको थियो । सन् २०२१ सम्म सुस्त ईभी बजारमा एकाएक चहलपहल सुरू भएको थियो ।
त्यसपछि निरन्तर ईभीको बिक्री अगाडि रहँदै आएको छ । धेरैजसो उपभोक्तालाई ईभीको बारेमा राम्रै जानकारी भइसकेको हामीले पाएका छौं । गाडीका शोरुमहरूमा भेटिने उपभोक्ताहरू आफुले किन्न चाहेको प्रोडक्टका विषयमा भरपुर जानकारी राखेर टेस्ट ड्राइभको लागि आउने गरेका छन् ।
‘ईभीमा उपभोक्ताहरू निकै सचेत हुनुहुन्छ । हाम्रा शोरुममा बस्ने सेल्स टीम कै हाराहारीमा जानकारी राखेर विद्युतीय गाडी किन्न आउनेहरू हामी भेट्छौं । यसले उपभोक्ताहरू निकै स्मार्ट तरिकाले ईभी किन्न आउनु भएको हाम्रो बुझाइ छ,’ एमएडब्लू वृद्धि अन्तर्गतको दीपल र अवतार ब्राण्डका सीईओ ज्ञानेन्द्र चन्दले भने ।
सीईओ चन्दको भनाइलाई आधार मन्दा पनि धेरै ईभी किन्ने उपभोक्ता स्मार्ट भइसकेका छन् । तथापि, सबैले राम्रो जानकारी राख्नु हुन्छ भन्ने छैन । त्यसैले हामीले यहाँ ईभी किन्दा ध्यान दिनु पर्ने मुख्य प्राविधिक विषयमा जानकारी दिएका छौं ।
ब्याट्रीको विषयमा जानकारी
यदि, तपाईं पहिलो पटक इलेक्ट्रीक भेहिकल किन्दै हुनुहुन्छ भने ब्याट्रीको बारेमा जानकारी लिन नर्बिसनु होला । खासगरी, ब्याट्रीको साइज, ब्याट्री केमेस्ट्री, रियल वर्ल्ड रेन्ज जस्ता विषयमा जानकारी लिनुपर्छ ।

ब्याट्रीको लाइफ, रेन्ज जस्ता कुरा जानकारी लिएर ईभी छनोट गर्दा पछि कुनै किसिम मनमा शंका पैदा हुँदैन ।
चार्जिङको लागि लाग्ने समय
ब्याट्री छनोटपछि अर्को महत्वपूर्ण विषय उक्त ब्याट्री चार्ज गर्न लाग्ने समय हो । अहिले अन्तर्राष्ट्रिय बजारमा १५०० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्ने गाडी आउन थालिसकेका छन् ।
तपाईंले किन्न खोजेको गाडीले कुन साइजको एसी र डीसी चार्जर सपोर्ट गर्छ भन्ने एकिन गर्नु उपयुक्त हुन्छ । मुख्यतया ७ किलोवाट क्षमाताको एसी र १०० किलोवाट माथिको डीसी चार्जर सपोर्ट गर्ने गाडी नेपालको हकमा ठीक हुन्छ ।
ब्याट्री र मोटरमा वारेन्टी
प्राविधिक कुरा बुझेर ईभी किन्दा ध्यान दिनु पर्ने अर्को कुरा वारेन्टी अवधि हो । विशेषगरी ब्याट्री र मोटरमा कम्पनीले दिने वारेन्टीको विषयमा जानकारी राख्नुपर्छ ।

अहिले एक्सटेन्डेट वारेन्टी भन्दै कम्पनीहरूले ११ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी दिएका छन् । मोटरमा भने कम्पनी र ब्राण्ड अनुसार ५ देखि ८ वर्षसम्मको वारेन्टी उपलब्ध छ । तपाईंले पनि ईभी छान्दा यी दुई कुराको वारेन्टी अवधि एकिन गर्नुहोला ।
सुरक्षा फिचर
आजकल गाडीको सुरक्षाको विषय निकै महत्व दिएर बुझ्नु पर्ने कुरा हो । ग्लोबल एनक्याप, अष्ट्रेलियन एनक्याप, आसियन एनक्याप, युरो एनक्याप जस्ता प्रसिद्ध क्र्यास टेस्ट एजेन्सीले परीक्षण गरेर ५ स्टार रेटिङ दिएको गाडी किन्दा ड्राइभिङ कन्फिडेन्ट वृद्धि हुन्छ ।
त्यसका अलावा एडास फिचर भित्र रहेका अन्य सुरक्षा फिचरको बारेमा पनि जानकारी लिँदा राम्रो हुन्छ । ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल जस्ता फिचर पनि सुरक्षाको लागि निकै उपयोगी मानिन्छ ।

