दुईपाँग्रे एम्बुलेन्स संचालन गर्ने काठमाडौं महानगरको तयारी

तस्बिर : एआइ जेनेरेटेड ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुईपाँग्रे एम्बुलेन्स संचालन गर्ने तयारी थालेको छ ।

सवारी चापका कारण चारपाँग्रे एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट तत्कालै चिकित्सक बिरामी भएका ठाउँमा पुग्न सकोस् भन्ने उद्देश्यले महानगरले दुईपाँग्रे एम्बुलेन्स संचालन गर्न लागेको हो ।

यसैका लागि महानगरपालिकाले आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापन गर्न एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता, व्यावहारिकता, वैज्ञानिकताका विषयमा छलफल गरेको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकमा दुईपाँग्रे एम्बुलेन्स संचालन सम्बन्धी छलफल भएको हो । छलफलमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारी सहभागी थिए ।

कार्यवाहक प्रमुख डंगोलले, एम्बुलेन्स संचालनको वैज्ञानिकताका लागि अध्ययन गर्नु पर्ने बताइन् । उनले जटिल स्वास्थ्य अवस्था आएर आपत सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि दुईपाँग्रे एम्बुलेन्स संचालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइन् ।

‘बिरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स र्पुयाउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ? एम्बुलेन्समा को को छन्, बिरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याऔँ,’ उनले भनिन्, ‘सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ ।’

एम्बुलेन्स सेवा प्रिहस्पिटल मेडिकल सर्भिस हो । यो सेवा संचालनका लागि महानगरपालिकाले २०७६ वैशाख महिनामा केन्द्रसँग सम्झौता गरेको हो । त्यस यता महानगरपालिकाले १३ करोड ४४ लाख रुपैयाँअनुदान प्रदान गरेको छ । अहिलेको संचालन अभ्यासमा एक जना बिरामीका लागि १ हजार ६०५ रुपैयाँ खर्च हुने गरेको छ । यो खर्च महानगरपालिकाले व्यहोर्दै आएको छ ।

महानगरले कोभिड १९ को समयमा २३ हजार ५०० जनालाई एम्बुलेन्स सेवा प्रदान गरेको थियो । अहिले काठमाडौँ महानगरपालिकाभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ ।

सम्पर्क गरेपछिको ८ मिनेटमा बिरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम सेवा संचालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सिर्जना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउनु पर्नेमा जोड दिइयो ।


Back_to_top