काठमाडौं । हुन्डाई इन्डियाले सवारी साधन बिक्रीमा नयाँ रेकर्ड बनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०२५/२०२६ को चौथो त्रैमास (२०२६ जनवरी-मार्च)मा घरेलु बजारमा कुल १ लाख ६६ हजार ५७८ युनिट कार बेचेको छ । यो हालसम्म कुनै पनि त्रैमासमा बिक्री गरेको सबैभन्दा धेरै संख्या हो ।
कम्पनीले चौथो त्रैमासमा कुल २ लाख ८ हजार २७५ युनिट गाडी बेच्न सफल भएको छ । यो वर्ष चौथो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बिक्री ८.६७ प्रतिशतले बढेको हो । कम्पनीले गत आवको चौथो त्रैमासमा १ लाख ९१ हजार ६५० युनिट गाडी बेचेको थियो ।
चौथो त्रैमासमा निर्यातमा पनि ९.४४ प्रतिशतले बढेर ३८ हजार १०० युनिट पुगेको छ ।
कम्पनीले सन् २०२६ लागेपछि लगातार बिक्री बढाउँदै लगेको छ । कम्पनीले २०२६ मार्चमा कुल ६९ हजार ४ युनिट सवारी बेचेको हो । जुन एक महिनामा बेचेको हालसम्मकै धेरै हो ।

कम्पनीले गत वर्षको मार्चको तुलनामा यस वर्ष २.५ प्रतिशतले बिक्री बढाउन सफल भएको हो । हुन्डाईले गत वर्ष मार्चम कुल ६७ हजार ३२० युनिट सवारी बिक्री गरेको थियो ।
कोरियन कार निर्माताले मार्चमा भारतको घरेलु बजार बिक्री बढाउन सफल भएको हो । मार्चमा हुन्डाईको घरेलु बिक्री ६.२६ प्रतिशतले बढेर ५५ हजार ६४ युनिट पुगेको छ । यो पनि कम्पनीले घरेलु बजारमा हालसम्म कुनै पनि एक महिनामा बिक्री गरेको सबैभन्दा धेरै संख्या हो । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष घरेलु बजारमा ३ हजार २४४ युनिट कार बेचेको हो ।
हुन्डाईले मार्चमा घरेलु बजारमा बिक्रीमा नयाँ रेकर्ड बनाए पनि निर्यातमा भने गिरावट आएको छ । कम्पनीले मार्चमा १३ हजार ९४० युनिट कार निर्यात गरेको छ । यो अघिल्लो वर्ष मार्चको तुलनामा १०.०२ प्रतिशत कम हो । कम्पनीले गत वर्ष मार्चमा १५ हजार ५०० युनिट गाडी बेचेको थियो ।
हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने आइसकेको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले सन् २०२५ को नोभेम्बरमा बजारमा ल्याएको न्यू जेन भेन्युमा ग्राहकको उच्च आकर्षण देखिएको छ । हालसम्म ८० हजार युनिट बढी बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।

