थाई एयरवेजद्वारा नेपालमा ‘थ्री-क्लास’ सुविधासहितको एयरबस संचालन

काठमाडौं । थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले काठमाडौं–बैंककमा ‘थ्री-क्लास’ सुविधासहितको एयरबस ए३३०-३०० विमान संचालनमा ल्याएको छ।

यो विमानबाट गत असोज १ गतेदेखि उक्त सुविधा दिन थालिएको हो । नयाँ विमानले यसअघि संचालन हुँदै आएको बोइङ ७७७ लाई प्रतिस्थापन गरेको हो ।

कम्पनीका अनुसार नयाँ विमान संचालन भएपछि यात्रा अझै सहज र आरामदायी बनाउने उद्देश्य राखिएको छ। उक्त विमानबाट कार्तिक ९ गतेदेखि काठमाडौंमा दैनिक दुईपटक उडान भइरहेको छ।

नयाँ एयरबस ए३३० ३०० विमानमा कुल २६४ यात्रु राख्ने गरी प्रिमियम इकोनोमी प्लस, प्रिमियम इकोनोमी र इकोनोमी गरी तीनओटा सेवा यात्रुहरूलाई प्रदान गर्न थालेको छ ।

प्रिमियम इकनोमी प्लसमा ३१ वटा प्रिमियम सीटहरू छन् । जसमा पूर्ण फ्ल्याट बेडहरू, प्रत्यक्ष आईसल पहुँच, र अधिक निजी वातावरण उपलब्ध छन्। लामो उडानका लागि एक अनुपम स्तरको आरामदायी अनुभव प्रदान गरिरहेको छ।

प्रिमियम इकनोमी वर्गमा ४८ वटा ठूला आरामदायी सिट, खानाको विशेष सेवा तथा प्राथमिकतासँगै बोर्डिङ सुविधासहित इकनोमी र बिजनेसक्लास बीचको अन्तरलाई पूर्ति गर्ने नयाँ क्याबिनको समेत विकल्प छ।

इकोनोमीमा कुल १८५ आरामदायी सीटहरू छन्। जसमा आधुनिक मनोरञ्जन प्रणाली, निःशुल्क खानाको सुविधा र चौकस केबिन कर्मचारी सेवाहरू उपलब्ध छन्। जुन यस एयरलाइन्सलाई क्षेत्रभरिका यात्रुहरूले रोजाइको विकल्प बनाउन सक्छन्।

थाई एयरवेज इन्टरनेशनल कम्पनी लिमिटेडले नेपालको लागि आफ्नो जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिससँग संयुक्त रूपमा व्यापक प्रशिक्षण सत्र संचालन गरेको जनाएको छ।

प्रशिक्षणको उद्देश्य नेपालभरका यात्रा व्यवसायीहरूलाई नयाँ विमान कन्फिगरेसन र सेवा प्रस्तावबारे अद्यावधिक जानकारी उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।


Back_to_top