फास्ट ट्रयाकमा बन्दै गरेका ७ सुरुङ, कुनको कति सकियो काम ?

निर्माणाधीन काठमाडौं/तराई/मधेश द्रुतमार्गको लेनडाँडा सुरुङ ।

काठमाडौं । नेपाल सुरुङ युगमा प्रवेश गरेको छ । अहिले देशका ९ ठाउँमा सुरुङमार्ग निर्माणाधीन अवस्थामा छन् । थप डेढ दर्जन बढी स्थानमा सुरुङमार्ग बनाउने प्रस्ताव गरिएको छ । जसमा केहीको पूर्व सम्भाव्यता अध्ययन, डीपीआर, ईआइए लगायत काम समेत भइरहेको छ ।

देशकै पहिलो नागढुंगा नौबिसे सुरुङमार्ग निर्माण अन्तिम चरण (भौतिक प्रगति ९६ प्रतिशत)मा पुगेको छ । सुरुङको काम सम्पन्न भए पनि पहिरो नियन्त्रण, टोल बुथ निर्माण लगायत काम बाँकी छ । आगामी पुस भित्र उक्त सुरुङमार्ग संचालनमा ल्याउने सरकारको तयारी छ । विदेशी सेवा प्रदायक ल्याउन ग्लोबल टेन्डर समेत आह्वान भइसकेको छ ।

त्यस्तै, सिद्धबाबा सुरुङमार्गको ६० प्रतिशत काम पूरा भएको छ । ११२६ मिटर लामो यो सुरुङको लाइनिङ, इन्भर्ट लगायतको काम सकिएको छ । भेन्टिलेटर, लाइट, संचार लगायत उपकरणहरू जडान गर्न बाँकी छ । चालु आव भित्रै यो सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

त्यसैगरी, राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को ७ स्थानमा सुरुङ निर्माणाधीन छ । फास्ट ट्रयाकको कुल लम्बाइको १५.४६ प्रतिशतखण्ड सुरुङमार्ग रहेको छ ।

फास्ट ट्रयाकको ७ स्थानमा कुल १०.९७९ किमी लम्बाइ (एकतर्फी)का सुरुङ धमाधम निर्माण भइरहेका हुन् । हरेक ठाउँमा सवारी साधन जाने र आउने छुट्टाछुट्टै सुरुङ रहने छ । यद्यपि, फास्ट ट्रयाकका सुरुङ निर्माण सम्पन्न हुन र संचालनमा आउन भने अझै केही वर्ष लाग्ने छ । सडक पूर्ण रूपमा निर्माण सम्पन्न नभई सुरुङ प्रयोगमा ल्याउन सकिँदैन ।

फास्ट ट्रयाकका ७ मध्ये हालसम्म धेद्रेडाँडा र लेनडाँडाका दुवै सुरुङमार्ग ब्रेक थ्रु भइसकेको छ । अन्य ५ वटा सुरुङमार्गमा काम भइरहेको छ ।

निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्गको चालिसेखोला पुल ।

नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेत अनुसार असोज मसान्तसम्म लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ । यी दुवै सुरुङमा अहिले सेकेण्डरी लाइनिङ (भित्तो प्लाष्टर)को काम भइरहेको उनले बताए ।

‘फास्ट ट्रयाकमा सुरुङ निर्माणको काम धमाधम भइरहेको छ । धेद्रे र लेनडाँडाका दुवै ब्रेक थ्रु भई लाइनिङको काम भइरहेको छ । महादेवटारमा खन्ने र लाइनिङ सँगसँगै भइरहेको छ,’ उनले मेरोअटोसँग भने, ‘चन्द्रामभीरको एकतर्फ खन्न थालिएको छ । अन्य तीनवटामा भने पोर्टलको काम भइरहेको छ ।’

धेद्रेमा दाँयातर्फ १६५३ मिटर र बाँयातर्फ १७२८ मिटरको सुरुङ रहेको छ । यसको हालसम्म बाँयातर्फ ९७३ मिटर र दाँयातर्फ ९५३.२० मिटर लाइनिङको काम समेत सकिएको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

त्यस्तै, फास्ट ट्रयाककै सबैभन्दा लामो महादेवटार सुरुङ खन्ने काम झण्डै दुई तिहाई पूरा भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार ३३५५ मिटर लामो यो सुरुङखन्ने काम करिब ६५ प्रतिशत पूरा भएको छ ।

महादेवटार सुरुङको बाँयातर्फ ३३८६ मिटर मध्ये हालसम्म २२८८ मिटर (६८ प्रतिशत) र दाँयातर्फ ३३२२ मिटरमध्ये २०२९ मिटर (६१ प्रतिशत) खनिसकिएको छ । चालु आव भित्रै यो सुरुङ ब्रेक थ्रु गरिने लक्ष्य राखिएको छ ।

त्यस्तै, महादेवटार सुरुङमा लाइनिङको काम पनि सँगसँगै भइरहेको छ । हालसम्म दायाँतर्फ ९७०.३७ मिटर र बाँयातर्फ ३५१.७० मिटर सेकण्डरी लाइनिङको काम सकिएको उनले जानकारी दिए ।

लेनडाँडा, धेद्रे र महादेवटार सुरुङ पहिलोको डिजाइन अनुसार ठेक्का लगाइएका हुन् । चन्द्रामभीर, देवीचौर, सिसौटार र मौरीभीरमा पछि डिजाइन परिवर्तन गरी सुरुङमार्ग थपिएको हो । त्यसैले यी सुरुङमार्गको प्रगति कम रहेको छ ।

फास्ट ट्रयाकको दोस्रो लामो चन्द्राम भीर सुरुङको एकातर्फ मात्र खन्न सुरू गरिएको छ । सूचना अधिकारी बस्नेतका अनुसार २२५० मिटर लामो यस सुरुङको हालसम्म ३०६ मिटर खनिसकिएके छ । अर्कोतर्फ खन्ने तयारी भइरहेको उनले बताए ।

१ हजार मिटर लामो देवीचौर, ३९० मिटर लामो सिसौटार र ५९४ मिटर लामो मौरीभीर सुरुङ भने खन्न सुरू भएको छैन । अहिले तीनै वटा सुरुङ खन्नका लागि पोर्टल तयारी काम भइरहेको उनले बताए ।

‘हालसम्म देवीचौर, सिसौटार र मौरीभीर गरी ३ वटा सुरुङ खन्न सुरु भएको छैन । अहिले खन्नु अघिको पूर्वकार्य अन्तर्गत पोर्टलको काम भइरहेको छ । पोर्टलको काम सकी चाँडै खन्न थालिने छ,’ उनले भने । सडक निर्माण भइसक्दा सुरुङमार्गहरू पनि सम्पन्न भइसक्ने उनको भनाइ छ ।

६ वर्ष भित्र निर्माण सम्पन्न गर्ने २०७४ देखि सुरू गरिएको यस आयोजनाको प्रगति भने अपेक्षित छैन । ७०.९७७ किलोमिटर लामो यस सडकको ८ वर्षमा भौतिक प्रगति ४३.६६ प्रतिशत र वित्तीय प्रगति ४४.८९ प्रतिशत पुगेको छ । आयोजनाको पछिल्लो पटक थपिएको म्याद २०८३ चैतसम्म रहेको छ ।


Back_to_top