थलीमा बिग्रिएको बाटो मेयरले प्रयोग गर्न छाडेपछि स्थानीयले गरे बन्द

काठमाडौं । विगत चार वर्षदेखि विस्तारको क्रममा रहेको चावहिल साँखु अन्तर्गतको बाटो अझै सम्पन्न नभएको विरोधमा आज विहान ८ देखि १० बजेसम्म स्थानीयले बजार तथा यातायात बन्द गरेका छन् । साथै, नगरपालीकाको मेयरले मुलबाटो प्रयोग नगरी गोकर्ण रिसोर्ट भित्रकोबाटो प्रयोग गर्न थालेको भन्दै स्थानीयबासी झनै आक्रोसित भएका हुन् । 

लामोसमयदेखि अस्तब्यस्थ रहेको बाटो निर्माणमा कसैले चासो नदेखाएको भन्दै थलीखण्डमा स्थानीयले विरोध जनाउँदै बाटो तथा बजार बन्द गरेका हुन् । 

बाटो निर्माण सुरु भएको यतिका वर्षसम्म पनि नबन्नु र अझ आउँदै गरेको बर्षा सिजनसँगै सुरु भएको बर्षातका कारण हिड्नै नसक्ने अवस्था सृजना भएपछि स्थानीयबासीले सांकेतिक विरोध स्वरुप आज सडक र बजार बन्द गरेका हुन् । 

घाम लागेपछि धुलो उड्ने र पानी परेपछि हिलाम्य हुने भएकाले वरपर बस्ने मानिसको स्वासप्रश्वासमा नै समस्या आउन थालेको स्थानीय औषधी पसल संचालक हरि पाण्डेले बताए । 

बाटामा ठूला–ठूला खाडल भएको तथा स्थानीय नगरपालीकाले हिजो माटो मिश्रित ग्राभेल हाले पछि झन अवस्था भयाबह भएकोले स्थानीयहरु बाध्य भएर विरोधमा उत्रिनु परेको स्थानीयबासी सूर्य बहादुर केसीले बताए । 

कागेश्वरी मनोहरा नगरपालीकाको मुख्य कार्यालय रहेको थली सडकखण्डको प्रयोग शंकरापुर नगरपालीकादेखि मेलम्चीसम्मका मानिसले गर्दै आएका छन् । यो बाटोमा समस्या आएसँगै दैनिक २/३ वटा दुर्घटना भइरहेका छन् । 

सडकको यस्तो अवस्था रहेको समयमा कागेश्वरी नगरपालीकाका मेयर हरिकृष्ण थापाले आफ्नो घर र अफिस आवतजावत गर्ने समयमा थलीको बिग्रियको मुल बाटो प्रयोग नगरी नेपाल ट्रस्टको नाममा रहेको गोकर्ण रिसोर्ट भित्रको बाटो प्रयोग गर्न थालेपछि स्थानीयले बन्द आयोजना गरेको बताए । 

अहिले उक्त रिसोर्ट भित्रको बाटो सर्बसाधारणलाई प्रयोगमा निषेध गरेको छ । स्थानीयबासी आनन्द घिमिरे रिसोर्टको बाटो पनि सार्वजनिक भएकोले थलीको मुल बाटो नबनेसम्म स्थानीयलाई पनि प्रयोग गर्न दिनु पर्ने बताउँछन् ।


Back_to_top