सरकारले बन्द गरायो ओलाका ७५ वटा शोरुम, १९२ स्कुटर जफत

काठमाडौं । भारतको चर्चित दुईपाँग्रे इलेक्ट्रीक स्टार्टअप कम्पनी ओलाको गैरकानुनी रूपमा खोलिएका ७५ वटा शोरुम महाराष्ट्र सरकारले बन्द गराएको छ ।

महाराष्ट्र सरकारले आरटीओ विभागलाई व्यापार प्रमाणपत्र बिना सञ्चालनमा रहेका सबै ओला इलेक्ट्रीक डिलरशिपहरू बन्द गर्न निर्देशन दिएको हो ।

महाराष्ट्र सरकारले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कम्पनी दर्ता नगरी अवैध रूपमा सञ्चालनमा रहेका ७५ वटा ओला इलेक्ट्रीक शोरूमहरू बन्द गरिएको छ । साथै, १९२ वटा स्कुटरहरू जफत गरिएको छ ।

निरीक्षण गरिएका ८३ प्रतिशत ओला शोरुमहरूमा व्यापार प्रमाणपत्र थिएन। रिपोर्ट अनुसार आरटीओहरूले महाराष्ट्रमा लगभग १४६ वटा ओला इलेक्ट्रीक शोरुमहरूमा निरीक्षण गरेका छन्। निरीक्षण गरिएका शोरुम वा एक्स्पिरियन्स सेन्टरहरू मध्ये १२१ ले व्यापार प्रमाणपत्र देखाउन सकेनन् । यी मध्ये ७५ वटा हालसम्म बन्द गरिएका हुन् ।

फेब्रुअरी २०२५ मा ओलाले २५ हजार युनिट स्कुटर बिक्री भएको दाबी गरेको थियो । महाराष्ट्र सरकारले निकालेको रिपोर्ट अनुसार तीमध्ये केबल ८ हजार ६४७ युनिट मात्रै स्कुटर दर्ता भएको जानकारी दिएको छ । यसपछि आरटीओ विभागद्वारा पुणे र मुम्बई जस्ता प्रमुख महाराष्ट्र शहरहरूमा निरीक्षण बढाएको र ओला शोरुमहरू माथिको कारबाही अझ तीव्र पार्दै लगेको छ ।

महाराष्ट्रका यातायात मन्त्रीले ओलाका धेरै एक्स्पिरियन्स सेन्टरहरू दर्ता नगरी व्यापार प्रमाणपत्र बिना नै सञ्चालनमा पाइएको उल्लेख गरेका हुन्। तीमध्ये केहीले आपसमा व्यापार प्रमाणपत्र बाँडफाँडसमेत गरेर चलाएको र महाराष्ट्र यातायात विभागले ओलालाई सूचना पठाउँदा कम्पनीले महाराष्ट्रका सबै शोरुमहरूमा व्यापार प्रमाणपत्रको लागि आवेदन दिने प्रक्रियामा रहेको जानकारि दिएको थियो ।


Back_to_top