फेरि बढ्यो आइकार भी २३ को मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आइकार भी २३ लाइफ स्टाइल इलेक्ट्रीक एसयूभीको मूल्य पुनः बढेको छ । नेपालका लागि चेरीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले आइकार भी २३ मूल्य १ लाख रुपैयाँ बढाएको हो ।

यससँगै आइकार भी २३ को मूल्य ५० लाख ९९ हजार रुपैयाँ पुगेको छ । लन्च भए यता आइकार भी २३ को मूल्य ४ लाख रुपैयाँ बढेको हो ।

आइकार भी २३ नेपालमा गत भदौमा सार्वजनिक भएको थियो । सो बेला कम्पनीले यसको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोके पनि विशेष अफरमा ४७ लाख रुपैयाँमै उपलब्ध गराएको थियो ।

लन्च भएको केही महिनामै आइकार भी २३ को मूल्य एकैपटक २ लाख रुपैयाँ बढेर ४९ लाख ९९ हजार रुपैयाँ पुगेको थियो । अहिले फेरि १ लाख रुपैयाँ बढाएसँगै ५१ लाख रुपैयाँ पुगेको हो ।

पछिल्लो समय अमेरिक डलरको भाउ र आयाता लागत बढ्दा अधिकांश बिक्रेताहरूले ईभीको मूल्य धमाधम बढाउन थालेका हुन् । आइकार भी २३ हाल नेपाली बजारमा हटकेक मोडल बनिरहेको छ । उच्च मागकै कारण पछिल्ला महिनाहरूका सर्वाधिक आयात हुने कारको सूचीको अग्रस्थानमा रहँदै आएको छ ।

आइकार भी २३ मा १०० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । जसले एकपटकको फुलचार्जमा ४०० किलोमिटर बढ रेन्ज दिन्छ ।

यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।

अगाडिका दुवै सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने कारमा ७ वटा स्पीकर पाउन सकिन्छ । जसले गाडीको साउण्ड सिस्टमलाई उत्कृष्ट बनाउने छ । चेरीले आइकार भी २३ मा स्क्वायर सेपमा एयरभेन्ट दिएको छ । ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ ।

एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।

स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।


Back_to_top