ईभीको ब्याट्री रिसाइक्लिङ नियममा चीनकाे कडाइ, बिक्रेताले नै फिर्ता ल्याउनुपर्ने

काठमाडौं । चीन सरकारले विद्युतीय सवारी साधनमा प्रयोग हुने लिथियम-आयन ब्याट्री रिसाइक्लिङमा कडाइ गरेको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र ‘अल-चाइना फेडरेशन अफ सप्लाई एण्ड मार्केटिङ कोअपरेटिभ्स’ले लिथियम(आयन ब्याट्री रिसाइक्लिङलाई व्यवस्थित गर्न नयाँ नीति जारी गर्दै कडाइ गरेको हो ।

नयाँ नीतिमा पुराना र प्रयोग भइसकेका ब्याट्रीहरू जथाभावी फाल्न नपाइने र ती ब्याट्रीलाई अनिवार्य रूपमा रिसाइकल (पुनः प्रयोग) गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ नीतिमा सूचना संकलन पूर्वाधार विस्तार गर्ने, प्रमुख रिसाइक्लिङ कम्पनीहरूलाई बलियो बनाउने र डिजिटल निगरानी प्रणाली सुरू गर्ने उपायहरू उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार अब चीनमा उत्पादन हुने हरेक ब्याट्री अनलाइनबाट ट्रयाकिङ गरिने छ । जहाँ उत्पादकका लागि आफ्नै एउटा विशेष डिजिटल आइडी हुनेछ । यसलाई सरकारको केन्द्रीय अनलाइन प्रणालीमा जोडिने छ । जहाँबाट ब्याट्री कहाँ बन्यो, कसले प्रयोग गर्यो, पुरानो भएपछि कहाँ पुग्यो भन्ने कुरा अनलाइनबाटै सरकारले थाहा पाउने छन् ।

चीनले अप्रिल १ देखि ‘राष्ट्रिय पावर ब्याट्री ट्रेसिबिलिटी प्लेटफर्म’ सुरु गरेको छ । यसमा उद्योगहरूले ब्याट्रीको उत्पादन, प्रयोग र रिसाइक्लिङ चरणहरूको डाटा अपलोड गर्न अनिवार्य गरेको छ ।

त्यस्तै, चीन सरकारले पुराना ब्याट्री उत्पादक आफैंले ग्राहकबाट फिर्ता ल्याउनुपर्ने व्यवस्था गरेको छ । यसका लागि अब गाडी वा ब्याट्री बेच्ने कम्पनीले नै पुराना ब्याट्रीहरू ग्राहकबाट फिर्ता लिने व्यवस्था मिलाउनुपर्नेछ । कम्पनीहरूले ठाउँ–ठाउँमा पुराना ब्याट्री संकलन केन्द्रहरू बनाउनुपर्नेछ ।

त्यसैगरी, अब साना र अव्यवस्थित रिसाइक्लिङ पसलहरूभन्दा ठूला र अत्याधुनिक प्रविधि भएका सरकारी तथा निजी कम्पनीहरूलाई ब्याट्री रिसाइकल गर्ने जिम्मा दिनेछ । ‘चाइना रिसाइक्लिङ ग्रुप’ जस्ता ठूला संस्थाहरूले देशैभरिबाट पुराना ब्याट्री जम्मा गरेर त्यहाँ भएका बहुमूल्य धातुहरू (जस्तै लिथियम, कोबाल्ट) निकालेर फेरि नयाँ ब्याट्री बनाउन प्रयोग गर्नेछन्।

अधिकारीहरूले इलेक्ट्रिक साइकल निर्माता र लिथियम ब्याट्री उत्पादकहरूलाई रिसाइक्लिङ गर्ने संस्थाहरूसँग मिलेर संकलन र अस्थायी भण्डारण नेटवर्क बनाउन प्रोत्साहन गरिरहेका छन्।
उत्पादकसँग जोडिएको यो मोडलले चीनको ईभी क्षेत्रको व्यापक प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ, जहाँ सवारी निर्माता र ब्याट्री आपूर्तिकर्ताहरूले ब्याट्रीको आयु सकिएपछिको व्यवस्थापनमा सहभागी हुनुपर्ने र रिसाइक्लिङ सेवा च्यानलहरू स्थापना गर्नुपर्ने व्यवस्था छ।

चीनले सन् २०२६ का लागि यसअघि नै कडा ब्याट्री रिसाइक्लिङ नियमहरू ल्याइसकेको छ । यस अन्तर्गत सवारी निर्माता र ब्याट्री उत्पादकहरूले पुराना ब्याट्रीहरूको जिम्मेवारी लिनुपर्ने र रिसाइक्लिङ सेवा नेटवर्कहरू स्थापना गर्नुपर्ने हुन्छ।


Back_to_top