काठमाडौं । एसपीजी अटोमोबाइलले जेको जे सिक्सको फेसलिफ्ट मोडल जे सिक्स टी नेपाली बजारमा बिक्री थालेको छ । पहिलेकोभन्दा बाहिरी डिजाइनमा निकै पृथक जे सिक्स टी चलाउँदा पनि भिन्न नै लाग्छ ।
हामीले यसलाई काठमाडौं उपत्यकाका विभिन्न स्थान र काभ्रेको कुसादेवी हुँदै पुनः काठमाडौं उपत्यका फर्काएका थियौँ । यस क्रममा कच्ची, पक्की, हिलो र चिप्लो बाटोमा पनि हामीले यसलाई चलाउने मौका पायौं ।
लाकुरी भन्ज्याङको कच्ची उकालो बाटो होस् वा लाकुरीबाट मानेदोभान जाने बाटो हल्का कच्ची र पक्की बाटो दुवैमा यसको पर्फमेन्स उत्कृष्ट थियो । पहिलोकोभन्दा हेर्दा नै निकै राम्रो लाग्ने जे सिक्स टी पर्फमेन्समा पनि सुधार भएर आएको छ ।
यसको अगाडिको फेसियामा ठूलो परिवर्तन भएको छ । साथै, फ्रन्ट बम्पर पनि निकै मस्कुलर भएको छ । यसका अलावा पछााडिको भागमा पनि परिवर्तन भएको छ ।

पछाडि दिइएको कार्गो स्पेशको डिजाइन परिवर्तन भएको छ । पछाडिको बम्पर पनि परिवर्तन भएको देख्न सकिन्छ । नयाँ जे सिक्स टीको ग्राउण्ड क्लियरेन्स पनि २५ एमएमले वृद्धि भएको छ । यसअघि २०० एमएम ग्राउण्ड क्लियरेन्स रहेको जे सिक्समा अब २२५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
कम्पनीले गाडीको चौडाइ पनि १० एमएमले वृद्धि गरेको छ । त्यसैले क्याबिन स्पेश बढेको सहजै अनुमान लगाउन सकिन्छ । स्टेयरिङ पनि परिवर्तन भएर आएको छ । नयाँ स्टेयरिङ निकै सहज लाग्छ ।

लाइफ स्टाइल भेहिकलको रूपमा जे सिक्स टीको क्याबिनमा थुप्रै कुरा अफरोडलाई ध्यानमा राखेर तयार पारिएको छ । समग्रमा अघिल्लो मोडलको तुलनामा नयाँ फेसलिफ्ट मोडल डिजाइनसँगै ‘ड्राइभिङ डाइनामिक्स’मा पनि सुधार गरेर ल्याएको छ ।


