काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जलेर नष्ट भएका सवारी साधन पत्रुमा बेच्ने प्रक्रिया अघि बढाउने भएको छ ।
सहरी विकास मन्त्रालयले सबै मन्त्रालय र सरकारी निकायहरूमा जलेका सवारी साधन तथा अन्य वस्तु लिलामीमा बिक्री गर्ने भएको हो ।
मन्त्रालयको गत साता बसेको सचिव स्तरीय बैठकले सबै मन्त्रालय तथा निकायहरूलाई मिनाहा प्रक्रिया सम्पन्न गरी पत्रुमा लिलाम गर्ने सवारी र सामानको सूची शहरी विकास मन्त्रालयमा बुझाउन भनेको हो ।
सबै मन्त्रालयबाट सामानको सूची आइसकेपछि लिलामी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठक आन्दोलनमा जलेका सवारी लिलामी गर्ने निर्णय गरेको थियो । आन्दोलनमा साढे १२ हजार बढी निजी र सरकारी सवारी जलेका थिए ।
तीमध्ये सरकारी सवारी जति लिलामी गर्न लागिएको हो । आन्दोलनमा जलेका सवारीको तथ्यांक संकलन भइसके पनि हालसम्म सार्वजनिक भने गरिएको छैन ।
काठमाडौंमा जलेका सरकारी सवारी साधन हाल नयाँबानेश्वरस्थित संसद भवन पछाडि थुपारिएको छ ।
त्यस्तै, बैठकले हाल संचालनमा रहेका र नयाँ सवारी साधन तथा भवनको अनिवार्य बीमा गर्ने, मर्मत गर्न मिल्ने सवारी साधन तत्काल मर्मत गरी संचालनमा ल्याउने निर्णय गरेको छ ।

