काठमाडौं । तरलता अभावको प्रभाव रिकन्डिसन बजारमा पनि परेको छ । विशेषत दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटर खरिद विक्री गर्ने रिकन्डिसन हाउसहरुमा पुराना साधन थुप्रेको छ ।
तरलता अभाव भएसँगै नयाँ मोटरसाइकलको विक्री कम भएको कारण नै रिकन्डिसन बजारमा मन्दि छाएको व्यवसायीहरु बताउँछन् ।
‘हामीसँग अहिले प्रसस्त रिकन्डिशन मोटरसाइकलहरु उपलब्ध छन् । अहिले बजारमा पैसाको अभाव देखिएको छ । मोटरसाइकल किन्न ग्राहक आएका छैनन् ।’, काठमाडौंको नयाँ बस्तीमा रहेको मंगोलियन अटोका संचालक दावा शेर्पाले मेरोअटोसँग भने ।
त्यस्तै मध्य बानेश्वरमा रिकन्डिसन हाउस संचालन गरिरहेका गणेश अधिकारीको अनुभव झनै जटिल छ । उनी भन्छन् ‘१० दिनदेखि एउटा पनि मोटरसाइकल विक्री भएको छैन ।’
पहिला दैनिक ५ वटासम्म मोटरसाइकल विक्री गर्दै आएका अधिकारी अहिले महिना दिनमा ५ वटा पनि विक्री गर्न नसक्ने अवस्था रहेको बताउँछन् ।
बालाजुमा एनबी रिकन्डिसन हाउस संचालन गर्दै आएका राजु शाक्यको बुझाई पनि यस्तै छ । उनि भन्छन्, ‘अहिले घर जग्गा सेयर बजारमा सबै तीर मन्दी छाएको छ । जसले बजारमा पैसा नै छैन । अनि कसरी गाडी विक्री बढ्छ ।’
अब मूल्यमा दवाव
ब्यवसायीहरुले ग्राहकसँग मोटरसाइकल किनेर राखेको ३/४ महिना भइसकेको छ । यति लामोसमय मोटरसाइकल तथा स्कुटरमा लगानी गरेर बस्नु पर्दा ब्यवसायीहरु समस्यामा परेका छन् ।
बजारको सिद्धान्त अनुसार माग कम भएपछि मूल्य घट्नु पर्ने हो । तर, माग नहुँदा लगानी थपिएको छ । त्यसैले कजार कता जान्छ भन्ने एकिन गर्न कठिन रहेको ब्यवसायीहरु बताउँछन् ।

