कुरिन्टारमा दिगोको सुविधा सम्पन्न चार्जिङ स्टेशन संचालनमा

काठमाडौं । चितवनको कुरिनटारमा दिगोले ई-स्टप (ईभी चार्जिङ स्टेसन) संचालनमा ल्याएको छ । दिगोको दोस्रो ठूलो चार्जिङ स्टेसन समेत रहेको कुरिन्टार ई-स्टपको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका हुन् ।

दिगो ई-स्टपले देशको सबैभन्दा ठूलो निजी स्वामित्वमा रहेको ईभी चार्जिङ स्टेशन सुविधा प्रदान गर्दछ। कम्पनीले गत वर्षदेखि मूलकोटको रामटारमा पहिलो ई-स्टप सञ्चालनमा ल्याएको थियो ।

कुरिन्टारको ई-स्टप सुविधा सम्पन्न रहेको दिगोले जनाएको छ । यस ई–स्पटमा ईभी चार्जिङ सुविधा, यात्रुलाई सफा र स्वच्छ खाना खुवाउने रेस्टुरेन्ट, सार्वजनिक शौचालय लगायत सुविधा रहेका छन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ई-स्पटले विद्युतीय सवारी साधनको प्रबद्र्धन र शून्य कार्बन उत्सर्जन हासिल गर्ने नेपालको प्रतिबद्धतालाई समर्थन गर्ने बताए ।

उनले देशको यातायात क्षेत्रको रूपान्तरणमा दिगो पूर्वाधारको महत्वपूर्ण भूमिका रहेको बताए । ‘दिगो ई–स्टपको स्थापना हरियाली र थप दिगो भविष्यतर्फको महत्वपूर्ण कदम हो। विद्युतीय सवारी साधनको प्रयोगमा सहजीकरण गरेर हामीले हाम्रो कार्बन फुटप्रिन्ट घटाउने मात्रै होइन ऊर्जामा स्वतन्त्रता र स्वच्छ हावाको बाटो पनि प्रशस्त गरिरहेका छौं,’ उनले भने ।

दिगो ग्रुप अफ कम्पनीजका अध्यक्ष राजन रायमाझीले दिगोले नेपालमा राजमार्ग यात्रामा नयाँ युगको सुरुआत गरेको बताए ।

‘आज नेपालमा राजमार्ग यात्रामा नयाँ युगको सुरुआत भएको छ । दिगो ई-स्टप एउटा पिट स्टप मात्र होइन, यो एक दर्शन हो। हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि नयाँ मानक सेट गर्न समर्पित छौं,’ उनले भने ।


Back_to_top