काठमाडौं । फक्वागेन ग्रुप अन्तर्गत भारतमा उत्पादन भएका दुई एसयूभी कुशक र टाइगुन दुबैको नेपालमा विक्री सुरु भएको छ । स्कोडाले कुशक करिब २ महिनाअघि नेपालमा विक्री सुरु गरेको हो भने, फक्सवागेन टाइगुन केही महिनापछि विक्री सुरु भएको हो । एउटै प्लेटफर्म, लगभग एउटै साइज, झट्ट हेर्दा लगभग उस्तै र मूल्य पनि उस्तै रहेको कारण यी दुई मोडल बीच राम्रै प्रतिस्पर्धा हुने देखिएको छ ।
यी दुई गाडीमा रहेका भिन्नता केलाउन निकै कठिन छ । किन भने यी दुबै गाडीले ‘फ्रन्ट ग्रिल’ बाहेक अन्य धेरै फिचर समान अझ भनौ एउटै प्रयोग गरेका छन् । भारतमा फक्सवागेन ग्रुपको नेतृत्व स्कोडाले गरेको कारण सबै प्रयोग र प्रयास पहिलो कुशकमा भएको छ । त्यसैले पनि टाइगुन भन्दा कुशक पहिला नेपाल आएको हो ।
कुरा गरौं दुबै गाडीको लुक्सको । निकै स्मार्ट, योङ् डिजाइन थिम, फङ्की र कुल गाडी भनेर कुशकलाई सम्बोधन गर्दा फरक पर्दैन । त्यहि परम्परागत शैली, परिपक्व डिजाइन र फक्सवागनको आफ्नै स्वभावको निरन्तरताको रुपमा टाइगुनलाई चित्रित गर्दा अन्याय नहोला । यी दुई गाडीको अगाडि भागमा थुप्रै नयाँ र फरकपन पाउन सकिन्छ । तर, साइड प्रोफाइलमा खासै भिन्नता छैन । इन्टेरियरमा कलरको प्रयोगले फरकपन दिन खोजेको देखिन्छ । तर, प्रयोग भएको मेटेरीयलमा ठूलो भिन्नता पाउन सकिदैन । त्यसैले होला दुबै कम्पनीले स्टेरिङ ह्वील भने फरक दिएका छन् । स्कोडा कुशकमा टु स्पोक ह्वील छ भने, फक्सवागनले थ्रि स्पोक ह्वील प्रयोग गरेको छ ।

फक्सवागेनले टाइगुनलाई फरक देखाउन स्क्वायर आकारमा एलइडी हेडल्याम्प, होरिजेन्टल एलइडी टे टाइम रनिङ लाइट, क्रोम सहितको ग्रिल, बम्परमा दुई फगल्याम्प जोड्नेगरी दिइएको क्रोम, सिल्भर स्कीड प्लेट पाउन सकिन्छ । साथै पछाडिको बम्परमा पनि लामो क्रोम लाइनिङको प्रयोग यसमा गरिएको छ । धेरै क्रोमको प्रयोग भएको कारण टाइगुन झिल्के देखिन्छ ।
स्कोडाको सिग्नेचर ग्रिलले यसको अग्रभाग निकै आक्रमक देखिएको छ । ठूलो एयर भेन्ट, क्रोम फिनिसिङ सहितको फगल्याम्प, ग्रिलभन्दा माथि दिइएको स्कोडाको लोगो, एलइडी डे टाइम रनिङ लाइट जस्ता फिचर यसमा पाउन सकिन्छ । साथै, स्कोडाले निकै ठूलो टेल ल्याम्पको प्रयोग पनि गरेको छ ।

दुबैमा समान साइजको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । ड्यासबोडमा एसी, म्यूजिक सिस्टम, हिटर, भोलुम जस्ता सिस्टम कन्ट्रोल गर्न कुनै पनि स्वीच दिइएको छैन । सबै कन्ट्रोल स्टेरिङ ह्वीलमा दिइएको बटम वा टचको माध्यमबाट गर्न सकिन्छ । यी दुबै गाडी ५ सीट क्षमता हुन् । तर, अल्ली ठूलो साइजका मानिस ३ जना पछाडि बसेर यात्रा गर्ने भने सहज छैन । यद्यपी पछाडि दुई जना मात्रै बस्ने हो भने उनिहरुलाई स्पेशको कमी महशुस हुँदैन । दुबै गाडीमा प्रसस्त लेगरुम पाउन सकिन्छ ।
अगाडि र पछाडि दुबै स्थानमा आर्मरेष्ट, एड्जस्ट गर्न मिल्ने हेडरेष्ट, टिल्ट र टेलिस्कोपीक एड्जस्ट गर्न सकिने स्टेरिङ ह्वील दुबै गाडीका सुन्दर पक्ष हुन् । सुरक्षाको हिसावले दुबै गाडीमा एउटै फिचर उपलब्ध रहेको छ । इन्जिन, माइलेज र पावरमा पनि दुबैको एउटै १.० लिटर टिएसआई इन्जिन भएकोले फरक पाउन सकिदैन ।

मूल्यमा भने केही हजारको फरक पाउन सकिन्छ । स्कोडा कुशक टाइगुनभन्दा १ लाख रुपैयाँ सस्तो रहेको छ । बजारमा कुशकको तीन म्यानुयल भेरियन्ट र दुई अटोमेटीक भेरियन्ट उपलब्ध रहेको छ । एक्टीभ म्यानुयलको मूल्य ४९ लाख ९० हजार रुपैयाँ रहेको छ भने, एम्बीसन म्यानुयलको ५४ लाख ४० हजार र स्टाइल म्यानुयलको ६१ लाख ९० हजार मूल्य तोकेर विक्री भइरहेको छ । साथै, एम्बीसन अटोमेटीकको मूल्य ५९ लाख ९० हजार र स्टाइल अटोमेटीकको ६६ लाख ९० हजार रुपैयाँ रहेको छ ।
फक्सवागेनले टाइगुनको तीन भेरियन्ट मात्रै नेपाल ल्याएको छ । कम्पनीले यसलाई म्यानुयलमा एक र अटोमेटीकमा दुई भेरियन्ट ल्याएको हो । टाइगुन कम्फर्ट लाइन म्यानुयल भेरियन्टको मूल्य ५० लाख ९० हजार, हाइलाइन अटोमेटीकको ६३ लाख ९० हजार र टप लाइन अटोमेटीक भेरियन्टको मूल्य ६९ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ ।


