यसकारण सस्तो भएन नेपालमा बनेका मोटरसाइकल

काठमाडौं । नेपालमा नै एसेम्बल भएपछि पनि मोटरसाइकलको मूल्य कम नभएको भन्दै ग्राहकहरुले गुनासो गर्न थालेका छन् । अहिले बजाज र टीभीएसले नेपालमा नै मोटरसाइकल एसेम्बल गरेर बिक्री वितरण गर्दै आएका छन् ।

बजाजले नेपालमा विगत ३ वर्षदेखि मोटरसाइकल एसेम्बल गर्दै आएको छ भने टीभीएसले अहिले ‘ट्रायल प्रडक्सन’ गरिरहेको जनाएको छ । यसरी नेपालमा नै उत्पादन गरेर मोटरसाइकल बिक्री गर्दा पनि मूल्य नघट्नुको मुख्य कारण सरकारी कर रहेको देखिन्छ ।

भारत वा अन्य मुलुकबाट तयारी मोटरसाइकल ल्याउदा भन्सार बिन्दुमा सरकारले ३० प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लगाउँदै आएको छ । यहाँ नै उत्पादन गर्न ल्याउने एसेम्बल किटमा ३० प्रतिशत भन्सार र उत्पादन भएपछि मात्रै अन्तःशुल्क लगाउने गरेको छ ।

सरकारले नेपालमा नै एसेम्बल भएका मोटरसाइकलको हकमा ४० प्रतिशतको २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । जसले नेपालमा बनेका मोटरसाइकलमा ३० प्रतिशत अन्तःशुल्क लाग्ने छ ।

‘अहिलेको सोझो हिसावले नेपालमा उत्पादन भएका मोटरसाइकलमा १० प्रतिशत अन्तःशुल्क कम लाग्ने देखिन्छ तर, यहाँ लाग्ने खर्च जोडिएपछि मात्रै अन्तःशुल्क हिसाव हुने भएकाले वास्तविक छुट ८.५ प्रतिशत हाराहारी मात्रै हुन्छ । त्यसले नेपालमा उद्योग लगाए बापतको आउने खर्च धान्नै मुस्कील हुन्छ’, एक मोटरसाइकल बिक्रेताले भने ।

वास्तविकरुपमा उपभोक्ताले महसुस गर्न सक्नेगरि मूल्य कम हुन कम्तीमा २० प्रतिशत मात्रै अन्तःशुल्क हुनु पर्ने व्यवसायीको भनाई छ ।

उसोत नेपाल सरकारले नेपालमा एसेम्बल यूनिट स्थापना गर्न अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेपछि बजाजको प्लान्ट स्थापना भएको थियो । तर, पछि सरकारले त्यस्तो छुट २५ प्रतिशत मात्रै हुने निर्णय लियो । जसको कारण बजाजको प्लान्ट स्थापना भएको धेरै वर्षसम्म संचालनमा आउन सकेन ।

अहिले टीभीएसले पनि नेपालमा अपाचे आरटीआर सिरिजको उत्पादन सुरु गरेको जनाएको छ । उसका उत्पादन चाँडै बजारमा आउने कम्पनी स्रोतले जानकारी दिएको छ ।

अहिले नेपाल सरकारले मोटरसाइकलमा भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुर शिर्षकमा कर लगाउँदै आएको छ ।


Back_to_top