केटीएम ३९० ड्यूक थर्ड जेनेरेशनको बुकिङ खुला, मूल्य १ लाख घट्यो

काठमाडौं । केटीएम ३९० ड्यूकको मूल्य १ लाख रुपैयाँले घटेर आउने भएको छ । केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलास चन्द एड कम्पनीले अपडेटसहितको ३९० ड्यूक कम मूल्यमा ल्याउने भएको हो ।

कम्पनीले ८ लाख ९९ हजार रुपैयाँ तोकेर थर्ड जेनेरेशन ३९० ड्यूकको बुकिङसमेत खुला गरेको हो । यसअघि ९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री भइरहेको मोटरसाइकल अहिले १ लाख कम मूल्य राखेर ल्याउने तयारी थालेको छ।

गतवर्षको बजेटमार्फत कर घटेपश्चात कम्पनीले केटीएम ३९० ड्यूकको आयात गरेको थिएन । अहिले कम्पनीले विभिन्न अपडेटसहितको ३९० ड्यून नेपालमा सार्वजनिक गर्दा यसको मूल्य १ लाख रुपैयाँले घटाउन लागेको हो ।

अबको १ महिना भित्र ग्राहकलाई डेलिभरी दिने योजनामा रहेको कम्पनीले मोटरसाइकल बुकिङ गर्ने ग्राहकलाई ३० हजार रुपैयाँ बराबरको हेलमेट दिने जनाएको छ ।

कम्पनीले केही समय अघिमात्र केटीएम २५० ड्यूकको अपडेटेड मोडल ल्याएको थियो भने २५० ड्यूको थर्ड जेनेरेशन सोल्ड आउट भएको थियो ।

केटीएमले २५० ड्यूकमा जस्तै ३९० ड्यूकको समेत च्याचिस, इन्जिन तथा विभिन्न फिचरहरु समेत थप गरेर ल्याउने भएको हो ।

नयाँ ३९० ५ इन्च टीएफटी डिस्प्ले, ब्लुटूथ कनेक्टिभिटी, टर्नवाइटर्न नेभिगेशन, कल अलर्ट, सुपर मोटो एबीएस, कर्नरिङ एबीएस, ट्रायक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, तीन राइड मोड जस्ता फिचर उपलब्ध हुनेछ । यसमा केटीएमले पहिलो पटक एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन दिने भएको छ ।

यसमा अल न्यू ३९९ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ । यसले ४६ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडबक्स गियर उपलब्ध हुनेछ ।


Back_to_top