मोटरसाइकल एसेम्बल गर्न थप तीन कम्पनीले प्लान्ट लगाउँदै

काठमाडौं । सरकारले गत आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै सवारीसाधन ‘एसेम्बलिङ’ प्लान्ट स्थापन हुने क्रम बढ्दो छ ।

सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्तशुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ ।

गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस्’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तशुल्कमा छुटको घोषणा गरेको थियो । बजेटमार्फत नै छुट पाउने भएपछि पछिल्लो समय उद्योग विभागमा सवारी एसेम्बलिङ गर्ने उद्योग दर्तामा वृद्धि भएको हो ।

यस्तै, सरकारले ६ महिनादेखि १५० सीसीभन्दा बढीका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ । यो कहिलेसम्म लम्बिन्छ अनिश्चित छ । आयात प्रतिबन्ध र सरकारले दिएको सहुलियतलाई मध्येनजर गर्दै व्यवसायीहरूले धमाधम प्लान्ट स्थापन गर्न थालेका हुन् ।

गत आर्थिक वर्षमा दुई र चारपांग्रे गरी आधादर्जन‘ एसेम्बलिङ’ प्लान्ट स्थापना भएका थिए । चालु आवको तीन महिना (साउन -असोज)मा मोटरसाइकल उत्पादन तथा विक्री गर्ने थप ३ उद्योग दर्ता भएका छन् ।

चालु आवमा एउटा विद्युतीयसहित तीन वटा मोटरसाइकल उद्योग दर्ता भएका हुन् । ती उद्योगहरू चालु आर्थिक वर्षभित्रै सञ्चालनमा आउने गरी दर्ता भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार पर्साको वीरगंज महानगरपालिकामा एनजीएम इन्जिनियरिङ एण्ड सेल्स प्रालि सञ्चालनमा आउने भएको छ । ३३ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको उक्त उद्योगले वर्षेनी ४५ हजार मोटरसाइकल उत्पादन गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भीजीअटो ग्रुप प्रालि सञ्चालनमा आउने भएको छ । ३८ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको उक्त उद्योगले वर्षेनी ८ हजार वटा बाइक एसेम्वल गर्नेछ ।

यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकामा वडा नम्बर ४ हिमाल अटो नेपाल प्रालिले विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्यमा साथ उद्योग स्थापन गर्ने भएको छ । ६० करोड रुपैयाँ लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याउन लागेको हो । यो उद्योगले वर्षेनी २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर उत्पादन गरी विक्री गर्नेछ ।

हाल नेपालमा आधादर्जन बढी मोटरसाइकल उद्योग दर्ता भए पनि दुई कम्पनीले मात्र दुईपांग्रे सवारी साधन उत्पादन गरेर विक्री वितरण गर्दै आएका छन् । हाल नेपालमा गोल्छा समूहको बजाज र शङ्कर समूहको टीभीएसले मात्र मोटरसाइकल उत्पादन गरिरहेका छन् ।

गत आव २०७८/७९ मा विभागमा सवारी एसेम्बलिङका लागि सुजुकीका कार तथा मोटरसाइकल र तीनपांग्रे सवारी बनाउन सीजी अटोमोटिभ इन्डस्ट्रिज प्राली, यामाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लु अटो प्राली, विद्युतीय स्कुटर एसेम्बल गर्न ई–बोल्ट मोबिलिटी प्राली, दुईपांग्रे सवारी साधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स, दुईपांग्रे तथा तीनपांग्रे सवारी साधन उत्पादन गर्नेगरी दुगड अटो क्लिनिक र दुईपांग्रेदेखि छ पांग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका थिए ।


Back_to_top