नेपालमा सर्वाधिक रुचाइएका तीन इलेक्ट्रीक एसयूभी

काठमाडौं । नेपाली बजारमा विद्युतीय कारको लोकप्रियता तीव्र रूपमा बढ्दो छ । हाल नेपालमा बिक्री हुने कुल नयाँ कारमध्ये ७० प्रतिशत बढी हिस्सा ईभीको पुगेको छ । ईभीको बिक्री रफ्तार वर्षेनी बढ्दो क्रममा छ ।

सरकारले लिएको प्रोत्साहन नीति, दिएको कर सहुलियत, तुलनात्मक रूपमा सस्तो मूल्यमा आधुनिक कार पाउनु, बढ्दो चार्जिङ पूर्वाधार, संचालन खर्च कम लगायत कारणले उपभोक्ता ईभीप्रति आकर्षित भएका हुन् ।

हाल नेपाली बजारमा ३ दर्जन बढी ब्राण्डका ५० बढी मोडलका ईभी बिक्री भइरहेका छन् । बजारमा मिनीकार, ह्याचब्याक, एसयूभी, सेडान, प्रिमियम लग्जरी जस्ता सबै सेग्मेन्टका ईभी उपलब्ध छन् । तीमध्ये एसयूभी सर्वाधिक बिक्री हुने सेग्मेन्टमा पर्छ ।

बजारमा उपलब्ध दर्जनौं मोडलका एसयूभीमध्ये करिब १ दर्जन मोडलले बजारमा राम्रो पकड जमाएको देखिन्छ । अर्थात् ती मोडलको बिक्री राम्रै संख्यामा भएको छ । हालसम्म ९ मोडलका ईभीले १ हजार युनिट बिक्रीको आकडा पार गरिसकेका छन् । तीमध्ये सर्वाधिक रोजाइमा परेका ३ एसयूभीको हामीले यहाँ चर्चा गरेका छौं । तीनै मोडल २ हजार बढी युनिट बिक्री भइकसेका छन् ।

१. बीवाइडी एटो थ्री : एटो थ्री नेपालमा सर्वाधिक रोजाइमा परेको इलेक्ट्रीक एसयूभी हो । यसलाई नेपालमा ईभीको ‘ट्रेण्ड सेटर’भन्दा फरक पर्दैन । एटो थ्री ईभी कारमध्ये सबैभन्दा धेरै आयात भएको एसयूभी हो ।

सन् २०२२ अक्टोबारमा नेपाल आएको बीवाइडी एटो थ्री हाल (सन् २०२६ मे १५)सम्म ४ हजार २९५ युनिट आएको छ । साइमेक्स इंकले २०२२ मा १० युनिट, २०२३ मा १५३२ युनिट, २०२४ मा २०६८, २०२५ मा ६३५ युनिट र २०२६ मा ५० युनिट आयात गरेको छ ।

साइमेक्सले गत भदौमा बीवाइडी एटो टु ल्याएसँगै हाल एटो थ्री धेरै संख्यामा आयात गरेकाे छैन । हालै चीनमा फ्यासचार्जिङ सहितको थर्ड जेन एटो थ्री सार्वजनिक भएको छ । साइमेक्सले नयाँ एटो थ्री चाँडै ल्याउने बताइएको छ ।

आकर्षक डिजाइन, आधुनिक फिचर र उत्कृष्ट पर्फमेन्सका कारण एटो थ्रीले ग्राहकको मन जित्न सफल देखिन्छ । एटो थ्री ५० किलोवाट आवर र ६०.५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ । दुवैमा मोटर भने १०० किलोवाटको रहेको छ । एटो थ्रीको सुरूआती मूल्य ५९ लाख ९९ हजार र टप भेरियन्टको ६७ लाख ८० हजार रुपैयाँ रहेको छ ।

२. नेक्सन केथ्री : नेपालमा सबैभन्दा धेरै बिक्री भएको इलेक्ट्रीक एसयूभीको दोस्रो स्थानमा टाटाको नेक्सन केथ्री ईभी रहेको छ । सन् २०२१ को जुलाइमा नेपाल आएको नेक्सन हालसम्म ३ हजार २८ युनिट आयात भइसकेको छ ।

सिप्रदी ट्रेडिङले सन् २०२१ मा १८८ युनिट, सन् २०२२ मा १३०१ युनिट, सन् २०२३ मा १२८५ युनिट, सन् २०२४ मा २७ युनिट, सन् २०२५ मा १६४ र सन् २०२६ मा ४६ युनिट नेक्सन ईभी ल्याएको छ ।

नेक्सन ईभी प्राइम मोडलमा ३० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । नेक्सन के थ्री इम्पावर्ड भेरियन्टमा भने ४५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाट क्षमताको मोटर उपलब्ध छ । नेक्सन केथ्रीको सुरूआती मूल्य ४१ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

३. एमजी एस फाइभ : सर्वाधिक रोजाइमा परेको एसयूभी हो एमजी एस फाइभ । यसलाई ‘भ्यालू फर मनी’ मोडलको रूपमा समेत चिनिन्छ ।

 

२०२३ अप्रिलमा नेपाल प्रवेश गरेको एमजी एस फाइभ एसयूभी हालसम्म २२७१ युनिट आयात भइसकेको छ । पारामाउन्ट मोटर्सले २०२३ मा ९८६ युनिट, २०२४ मा २३० युनिट, २०२५ मा १०५२ युनिट र २०२६ मा ३ युनिट एस फाइभ आयात गरेको छ ।

एमजी एस फाइभमा ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइन्छ । सानो ब्याट्रीले ३४० किलोमिटरदेखि र ठूलो ब्याट्रीले ४३० किलोमिटरसम्म रेन्ज दिन्छ । यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर छ । यसको सुरूआती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top