कर बढेपछिको तीन इलेक्ट्रीक कार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि जेठ १५ गते सार्वजनिक गरेको बजेटले १०० किलोवाट माथि क्षमता भएका विद्युतीय कारमा करको दर वृद्धि गरेको कारण बजारमा आउने क्रममा रहेका ३ नयाँ मोडल समस्यामा परेका छन् ।

विशेषत ग्रेटवाल मोटर्सले नेपाल ल्याएको ओरा गुडक्याट, बीवाइडी एटो थ्री र टाटाको नेक्सन म्याक्स धेरै सम्भावना भएर पनि बढेको करको कारण विक्रीमा समस्या आउन सक्ने गाडी हुन् ।

ओरा गुडक्याट करिब ३ महिना अघि भिजी इम्पेक्सले नेपाल ल्याएको प्रिमियम ह्याचव्याक कार हो । यसको मूल्य ३८ लाखदेखि ४६ लाखसम्म कायम गरेर विक्री सुरु गर्ने अनुमान गरिएको थियो । तत्काल गाडीको सप्लाई नहुनेभन्दै धेरै मानिसलाई टेष्ट ड्राइभ गराएर राखेको कम्पनीले भन्सार र अन्तःशुल्क वृद्धिसँगै कति मूल्य राख्ने र कसरी बजारमा गाडी सार्वजनिक गर्ने भन्ने विषयमा कुनै ठोस निर्णय गरेको छैन ।

बीवाइडीले पनि एटो थ्रीको लागि निकै ठूलो तयारी गरेको थियो । कम्पनीले चर्चित अभिनेता हरिबंश आचार्यलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेर गाडीको बुकिङ खुल्ला गर्ने तयारी गरेको थियो । कम्पनीले यसको मूल्य करिब ६३ लाख रुपैयाँ हुने जानकारी यसअघि दिएको भएपनि नयाँ परिस्थितिमा यसको मूल्य कति पुग्छ भन्ने बारे कुनै जानकारी दिएको छैन । यद्यपि, बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले एटो थ्री जुलाई महिनामा नेपाल आउने जनाएको छ ।

टाटा नेक्सन नेपालमा सर्वाधिक सफल कम मूल्यको इलेक्ट्रीक एसयूभी हो । सिप्रदी ट्रेडिङले चाँडै भारतमा सार्वजनिक भएको नेक्सन म्याक्स मोडल ल्याउने योजना बनाएको थियो । अहिले विक्री भइरहेको नेक्सन इभीको तुलनमा म्याक्स मोडलको मूल्य ५ देखि ७ लाख रुपैयाँसम्म बढी हुने अनुमान चलिरहेको समयमा बढेको करको कारण यो इभीको नेपाल यात्रा नै अनिश्चित भएको छ ।

ओरा गुडक्याट

क्लासिक डिजाइनमा तयार भएको गुडक्याट निकै लोभलाग्दो देखिन्छ । नेपाल आएको गुडक्याटमा ६३ किलोवाट आवरको ब्याट्री रहेको भने १२६ किलोवाट क्षमताको पीक पवार प्रदान गर्ने क्षमता यसको छ । १०० किलोवाट माथि २०० किलोवाटसम्म पीकपावर भएका गाडीको ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ । यसअघि १५ प्रतिशत भन्सार मात्रै लाग्थ्यो ।

रेन्जको हिसावले पनि यसलाई निकै राम्रो मानिन्छ । कम्पनीले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेञ्ज प्रदान गर्ने दावी गरेको छ ।
ओरा गुडक्याटले ८० किलोवाट क्षमताको फस्ट डिसी चार्जर सपोर्ट गर्ने क्षमता राख्छ । यसमा सिंगल फेज लाइनमा चार्ज गर्न ६.६ किलोबाट र थ्रि फेज लाइनमा स्टायडर्ड चार्जरको रुपमा ११ किलोवाट क्षमताको चार्जर प्रयोग गर्न सकिन्छ ।

सबै लाइटहरु एलइडी प्रयोग भएको यो कारमा १८ इन्चको अलोय ह्वील, उत्कृष्ट इन्फोटेन्टमेन्ट सिस्टम, पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा जस्ता फिचर यसमा पाउन सकिन्छ ।

एटो थ्री

सानदार फिचर लोड भएर नेपाल आउन लागेको एटो थ्री बजेटकै कारण करिब २० देखि २५ लाख रुपैयाँले मूल्य बढ्ने देखिन्छ । साइजको आधारमा बजारमा उपलब्ध चल्तीका मोडल क्रेटा, सेल्टोस, टाइगुन र कुशकभन्दा ठूलो एटो थ्रीमा २७२० एमएमको ह्वीलवेस छ ।

नेपाल आउने एटो थ्रीमा ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री र १५० किलोवाट पीकपावर भएको मोटर दिएको छ । डब्लूएलटीपीले यसको रेन्ज ४२० किलोमिटर प्रमाणित भएको छ भने, एनइडीसीले ४८० किमि प्रमाणित गरेको छ ।

सुरक्षाको लागि यो एसयूभीमा अगाडि भ्यान्टीलेटड डिस्क र पछाडि डिस्क ब्रेक दिइएको छ । यसका साथै ७ वटा एयरब्याग, इलेक्ट्रीक पार्किङ ब्रेक, एबीएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटीक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्ट जस्ता फिचर दिइएको छ ।

यसको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । फिटनेस र म्यूजिकको थिममा तयार भएको इन्टेरियरले जो कसैलाई लोभ्याउने छ ।

मल्टीफङ्सनल स्टेरियङ ह्वील, ५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, लेदर सिट, फोल्डिङ रियर सिट, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आइएसओ फिक्स चाइल्ड सिट, १२.८ इन्चको रोटेड इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, किलेस इन्ट्री, ८ वटा स्पीकर पाउन सकिन्छ ।

नेक्सन इभी म्याक्स

टाटा मोटर्सले ब्याट्री साइज र पावर बढाएर ल्याएको नेक्सन म्याक्स पनि मोटरको कारण नै महंगो हुने भएको छ । टाटाले नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री र १०५ किलोवाट क्षमताको मोटर रहेको कारण यसले पनि ३० प्रतिशत भन्सार र ३० प्रतिशत नै अन्तःशुल्क लाग्ने छ । यसअघिको मोडलले २२० देखि २५० किलोमिटरसम्म रेन्ज दिने भएको कारण नयाँ म्याक्स मोडल नेपाल ल्याउने तयारी गरेको थियो ।

नेक्सन म्याक्समा रेगुलर मोडलको तुलनामा केही नयाँ फिचरहरु समेत थप भएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, इलेक्ट्रोनीक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, कुल्ड सिट आदि रहेका छन् ।

त्यस्तै, सुरक्षाका लागि म्याक्समा इएसपी तथा हिल होल्ड असिस्ट समेत थपिएको छ । यसमा अब स्मार्ट वाच कनेक्ट तथा क्रूज कन्ट्रोलको पनि सुविधा दिइएको छ ।


Back_to_top