बजेट कुर्दै इलेक्ट्रीक कार, बजेटपछि आउन सक्छन् ३ नयाँ मोडल

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटबाट विद्युतीय कारमा कर बढाएसँगै नयाँ इलेक्ट्रीक कार नेपाल आउन सकेका छैनन् । यसअघि रहेको १० प्रतिशत भन्सारलाई बढाएर ८० प्रतिशत बनाएको र ५० प्रतिशत छुट दिने घोषणा बजेटले गरेसँगै ४० प्रतिशत भन्सार कायम भएको थियो ।

भन्सारमा ३० प्रतिशतले वृद्धि गरेको सरकारले यसअघि अन्तःशुल्क नलाग्ने व्यवस्थालाई हटाएर ३० देखि ८० प्रतिशतसम्म मोटर क्षमताको आधारमा अन्तःशुल्क लाग्ने व्यवस्था गरेसँगै विद्युतीय गाडीको आयात ठप्प भएको थियो । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएसँगै उनले अन्तःशुल्कमा ७५ प्रतिशतसम्म छुट दिएका थिए ।

उनले दिएको छुटले पनि विद्युतीय गाडी आयातकर्ता र ग्राहकलाई उत्साह प्रदान गर्न नसकेपछि अन्तःशुल्क पूर्णरुपमा हटाउनु पर्ने माग उपभोक्ताहरुले गर्न थालेका छन् । अबको २५ दिनपछि आर्थिक वर्ष २०७८/७९ को बजेट संसदमा प्रस्तुत हुने छ । उक्त बजेटले विद्युतीय गाडीमा लाग्दै आएको अन्तःशुल्क हटाउने विश्वास व्यवसायी र उपभोक्ताले गर्दै आएका छन् ।

सरकारले आवश्यक वातावरण निर्माण गर्ने हो भने तत्कालै ३ नयाँ मोडलका विद्युतीय कार नेपाल आउने देखिन्छ । जसमा टाटा नेक्सन, महिन्द्रा केयूभी १०० र ओरा आर १ नेपाल आउन तयार रहेका विद्युतीय कार हुन् ।

टाटाको नेक्सन इलेक्ट्रीक भारतमा उत्पादन भएको विद्युतीय एसयूभी हो । २०९ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको नेक्सन उत्कृष्ट एसयूभी रहेको छ । एआरएआईले ३१२ किलोमिटर प्रमाणित गरेपनि एक पटकको फुल चार्जमा सहजै २६० किलोमिटरसम्म चलाउन सकिने नेक्सनमा थुप्रै आधुनिक फिचरहरु उपलब्ध रहेका छन् ।

यसमा सनरुफ, कनेक्ट कार फिचर, ७ इन्चको टीएफटी डिस्प्ले, प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, हर्मनको ८ वटा स्पीकर, ७ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टीभीटी, मल्टी ड्राइभ मोड लगायतका फिचर पाउन सकिन्छ ।

नेक्सनको अधिकतम पावर १२९ पीएस रहेको छ भने यसको पीक टर्क २४५ एनएम रहेको छ । यो कारले सून्यदेखि १०० किलोमिटरको रफ्तार ९.९ सेकेन्डमा भेट्टाउन सक्नेछ । सून्यदेखि ६० किलोमिटरको स्पीड भने ४.६ सेकेन्डमा भेट्टाउन सक्छ ।

अर्को नेपाल ल्याउने तयारी भइरहेको ओरा आर १ चिनियाँ कम्पनी ग्रेटवाल मोटर्सले उत्पादन गरेको हो । सानो साइज, उत्कृष्ट डिजाइन, एक पटकको फुलचार्जमा ३५० किलोमिटर भन्दा बढीको रेञ्ज यसको प्रमुख विशेषता हो ।

ओरा आर १ मा ९.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ भने कनेक्टेड कार टेक्नोलोजी, टायर प्रेशर मोनिटरिङ सिस्टम, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ । यसको सबैभन्दा बलियो पक्ष भनेको मूल्य हो । यो संसरकै सस्तो इलेक्ट्रीक कारको रुपमा परिचित रहेको छ ।

विद्युतीय गाडीको लागि नेपालमा परिचित ब्राण्ड हो मन्हिद्रा । भारतीय मोटर उत्पादक कम्पनी महिन्द्राको इलेक्ट्रीक माइक्रो एसयूभी केयूभी १०० पनि विक्रीको लागि तयार छ ।

महिन्द्राले अहिले विक्री गर्दै आएको कम्बस्चन इन्जिनयुक्त मोडलकै अधिकांश फिचर उपलब्ध रहेको इकेयूभी-१०० मा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ ।

इकेयूभी-१०० ले एक पटकको फुल चार्जमा १ सय ४० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने छ । लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी-१०० निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।


Back_to_top