घरमा थन्किएका कारलाई फिट राख्न यी ७ काम गरौँ, नत्र अफिस खुल्दा कार विग्रिएला

काठमाडौं । कोभिड १९ को दोस्रो लहरले नेपाललाई गाँजेसँगै देशका विभिन्न सहरहरुमा निषेधाज्ञा जारि भएको छ । उपत्यका लगायतका धेरै सहरमा गत विहिबारदेखि सुरु भएको निषेधाज्ञाका कारण फेरि पनि सडकमा निर्वाध गुड्नु पर्ने सवारी साधनहरु ग्यारेजमा थन्किन बाध्य भएका छन् ।

सुरुमा एक हप्ता भनिएता पनि यो कति लम्बिने हो थाहा छैन । दैनिकरुपमा गुड्नु पर्ने सवारी साधनहरुलाई पार्क गरेर लामो समय एकै ठाँउमा राखिरहनु पर्दा यसका मेसिनरी पार्टस्हरुमा विभिन्न खाले समस्या आउन सक्छन् । लामो समय नगुढाइकन कारहरुलाई पार्किङ गर्दा आउने समस्याका बारेमा विभिन्न कम्पनीका मेन्टीनेन्स इन्जिनियरहरुको सल्लाहमा गाडीलाई कसरी दुरुस्त राख्ने भन्ने विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।

१. व्याट्री चेक

हप्तौसम्म कार थन्किदा कारमा रहेको व्याट्रीमा समस्या आउने सम्भावना धेरै हुन्छ । कारको सबै इलेक्ट्रोनिक्स पार्टसहरु संचालनमा आउनका लागि व्याट्री अपरिहार्य हुन्छ । कारमा रहेको व्याट्री रिचार्जएवल व्याट्री हो । यो दैनिकरुपमा गाडी चलाउँदा आफैँ चार्ज हुने गर्छ । तर, कारको इन्जिन स्टार्ट नहुँदा व्याट्री रिचार्ज हुँदैन ।

कारमा रहेको व्याट्री केहि इलेक्ट्रीक उपकरण नचलाउदा पनि आफै विस्तारै डिस्चार्ज हुने गर्छ । व्याट्री पुरै डिस्चार्ज भयो भने कारको कुनै पनि फङ्सन चल्दैन । अझ कार नै स्टार्ट गर्न सकिदैन । यस्तो अवस्था आउन नदिनका लागि प्रत्येक २-३ दिनमा कार स्टार्ट गर्नु पर्छ । कारको इन्जिन स्टार्ट गरेर कम्तीमा पनि १० मिनेटसम्म त्यतिकै छाड्नु पर्छ । स्टार्ट गरिरहेको अवस्थामा एसी तथा अन्य इलेक्ट्रोनिक्स समेत केहि समय चलाउँदा राम्रो हुन्छ । जसको सहायताले इन्जिन पनि रन हुनेछ र व्याट्री पनि रिचार्ज हुन्छ । तर, कारलाई स्टार्ट समेत गर्न नसकिने हो भने व्याट्री छुटाएर राख्नु पर्छ ।

२. ब्रेकमा खिया लाग्नु

लामो समय कार पार्कगर्दा ह्याण्ड ब्रेकको प्रयोग गरिने भएकोले ब्रेक इन्गेज भइरहन्छ । फलस्वरुप ब्रेक र डिसको बीचमा खिया लाग्न सक्छ । पछि गाडी गुडाउँदा राम्रोसँग ब्रेक नलाग्ने तथा ब्रेकको प्रयोग गर्दा नराम्रो आवाज आउने हुन्छ । यस्तो अवस्था आउन नदिनका लागि यदि ठाँउ छ भने गाडीलाई केहि गुडाएर पार्क गर्न उपयुक्त हुन्छ । साथै, लामो समय खुल्ला स्थानमा एक ठाँउमा राख्ने हो भने ढुङ्गा वा काठको ओत लगाएर पार्क गर्नु उपर्युक्त हुन्छ । ह्याण्ड ब्रेक लगाउनु भन्दा कारलाई गियरमा पार्क गर्दा ब्रेकमा खिया आउने समस्याबाट मुक्ती पाइन्छ ।

३. टायर प्रेसर

कार जतिसुकै आधुनीक वा राम्रो किन नहोस् यदि टायरमा हावा छैन भने केहि काम लाग्दैन । लामो समय एकै ठाँउमा कार पार्क गर्दा टायरको हावाको प्रेसर विस्तारै कम हुँदै जान सक्छ । त्यसैले केहि दिनको अन्तरालमा गाडीको चारै चक्काको टायरको प्रेसर हेर्नु पर्छ । टायरको प्रेसर ठिक राख्न पनि प्रत्येक पटक कार स्टार्ट गर्दा अगाडि पछाडि केहि दुरीमा गुडाउनु उपर्युक्त हुन्छ । जसको सहयोगले टायरको प्रेसर स्थीर राख्न सहयोग पुग्छ ।

४. पार्किङ स्थान

सहरी क्षेत्रमा पार्किङको सधै समस्या रहने गरेको छ । अझ यो निषेधआज्ञामा सबै सवारी साधन पार्क हुने भएकोले पार्किङको स्थान पाउनै गाह्रो हुने गर्छ । आफ्नो कार पार्कगर्दा सुरक्षीत स्थानमा पार्किङ गर्नु पर्छ । सकेसम्म सिधा घाम नपर्ने स्थानमा पार्क गर्नु उपयुक्त हुन्छ । निरन्तर घाम पर्ने स्थानमा पार्कगर्दा कारको क्यावीन टेम्प्रेचर बढ्न गई ड्यासबोर्ड तथा सिटकभर बिग्रीन पनि सक्छ । अझ अहिलेको समयमा कोरोनाले गर्दा स्वास्थ्यमा कुनै पनि बेला समस्या आउनसक्ने भएकोले आफ्नो कार जुनसुकै समयमा पनि निकाल्न मिल्ने स्थानमा पार्क गर्नु पर्छ ।

५. पेट्रोलको संचिती

शोसल मिडियाहरुमा पेट्रोलको आपूर्तीमा समस्या आउने चर्चा चलिरहेको हुन्छ । शोसल मिडियाको पछि लागेर अनावश्यक इन्धनको संचित गर्नु हानिकारक हुन्छ । पेट्रोलियम पदार्थ अत्याधिक प्रज्वलनशिल हुने भएकोले घरमा राख्नु त हुँदै हुँदैन कारमा पनि फुल ट्याङ्क गर्न जरुरी छैन । किनकी पेट्रोल विस्तारै उड्दै जाने तथा लकडाउनमा विश्व बजारमा पेट्रोलियम पदार्थको खपत कम हुने भएकोले मूल्य समेत घट्दै जान्छ । त्यसमाथि लकडाउनको समय भनेको घरमै बस्ने हो कतै जानुनै पर्दैन । इमेर्जेन्सीको अवस्थामा कारमा हुने एभरेज पेट्रोल जुनसुकै हस्पीटल पुग्न प्रयाप्त हुन्छ ।

६. सर्भिस सेन्टर बन्द रहने

लकडाउन वा निषेधाज्ञाका समयमा सबै सर्भिस सेन्टर बन्द रहेको हुन्छ । मेडिकल स्टाफ, मिडियाकर्मी, सरकारी तथा सुरक्षा निकायका व्यक्तिहरुले यस्तो अवस्थामा पनि काम गर्नु पर्ने भएकोले उनिहरुको सवारी साधन गुढिनै रहेको हुन्छ । लकडाउनको समयमा यदि गाडीमा समस्या आएमा सहज रुपमा सर्भिस पाउन सकिदैन । यस्तो अवस्थामा सवारी साधन गुडाउनै पर्नेहरुले पनि आफ्नो सवारी साधनको थप हेरचाह गर्नु पर्छ ।

७. इन्टेरियरको सफाई

लामो समय गाडी पार्क गर्नु पर्दा कारको भित्र रहने केहि वस्तुहरु बिग्रिएर वा कुहिएर गनाउन सक्छ । गाडी गुडाइरहँदा एसीको माध्यमबाट वा झ्याल खोलिदा हावाको सर्कुलेसन भइरहेको हुन्छ । तर गाडी पार्किङमा रहदा सबै झ्याल ढोका बन्द गर्नु पर्ने भएकोले क्याविनमा केहि फोहोर रह्यो भने नराम्रो गन्ध आउँछ । एसी भेन्टमा मुसा छिरेर गुड नै बनाउन सक्ने र त्यहि मर्न पनि सक्ने भएकोले गाडीको कुना काप्चाहरुमा याद गर्नु पर्छ । त्यसैले लामो समय गाडी पार्किङमा राख्नुपर्दा सधै पूर्णरुपमा सफा राख्नु पर्छ । यदि पार्किङ गर्ने स्थान उपयुक्त छ भने दुईवटा झ्याल थोरै खुल्ला राख्न पनि सकिन्छ ।

यसका साथै धेरै समय पार्किङ गर्दा वाइपर पनि अप गरेर राख्दा विण्ड स्कृनमा यसको व्लेडका कारणले दाग लाग्न बाट बचाउन सकिन्छ । त्यस्तै एक्जस्ट पाइपलाई केहि बस्तुले बन्ध गर्दा राम्रो हुन्छ ।


Back_to_top