काठमाडौं । नेपालमा सहरी क्षेत्रमा स्कुटरको प्रयोग बढ्दो छ । स्कुटर मोटरसाइकलको तुलनामा चलाउन सहज, छरितो रहेकाले रोजाइमा पर्दै गएको हो ।
नेपाली बजारमा पेट्रोल र विद्युतीय दुवै स्कुटर उपलब्ध छन् । पेट्रोलको तुलनामा विद्युतीय स्कुटरको बिक्री निकै कम छ ।
पर्याप्त चार्जिङ पूर्वाधारको अभाव, कम रेन्ज, स्पेयर पार्टसको सहज उपलब्धता नहुनु लगायत कारण विद्युतीय स्कुटरको बिक्रीले अपेक्षित रफ्तार लिन सेकेको छैन । यद्यपि, पछिल्लो समय आयात क्रमशः बढ्दो क्रममै देखिन्छ ।
नेपालमा हाल २ दर्जन बढी ब्राण्डका विद्युतीय स्कुटर उपलब्ध छन् । तर, तीमध्ये आधादजर्न बढी ब्राण्ड मात्रै स्थापित हुन सकेका छन् ।
नेपालमा एथर, टीभीएस, याडिया, बजाज, टेलजी लगायत ब्राण्डका स्कुटर उपभोक्ताको रोजाइमा परेका देखिन्छन् । यहाँ हामीले नेपाली बजारमा धेरै खोजिने तीन इलेक्ट्रीक स्कुटरको बारेमा चर्चा गरेका छौं ।
१. एथर ४५०
भारतीय कम्पनी एथर इनर्जीले उत्पादन गरेको इलेक्ट्रीक स्कुटर एथर ४५० एक्स नेपालमा सर्वाधिक खोजिने स्कुटरको सूचीमा पहिलो स्थानमा देखिन्छ । ३ वर्ष अघि मात्रै नेपाली बजारमा आएको यो स्कुटर ग्राहकको पहिलो रोजाइ बन्न सफल भएको हो । यसले नेपाल आउनु अगावै निकै चर्चा कमाएको थियो ।

डिजाइन, फिचर र मूल्यका कारण पनि एथर ४५० सिरिज नेपालमा सर्वाधिक खोजिने स्कुटर बन्न सफल भएको हो । एग्रेसिभ स्पोर्टी डिजाइन, पावरफुल मोटर र फिचरले भरिपूर्ण एथर ४५० का दुई भेरियन्ट नेपालमा उपलब्ध छ ।
नेपालमा एथरका स्कुटर वैद्यज् अर्गनाइजेशन अन्तर्गतको वैद्य इनर्जीले बिक्री गर्दै आएको छ । एथर ४५० एक्स ३ ब्याट्री अप्सनमा उपलब्ध छ । कम्पनीले २.९ किलोवाट ब्याट्री भर्सनको मूल्य ३ लाख ६४ हजार ९९९ रुपैयाँ, ४५० एक्स ३.७ किलोवाट आवर ब्याट्रीको ३ लाख ९९ हजार ९९९ र ४५० एसको २.९ किलोवाट आवरको मूल्य ३ लाख २४ हजार ९९९ रुपैयाँ तोकेको छ ।
एथरका स्कुटरमा ट्रयाक्सन कन्ट्रोल, स्मार्ट कनेक्ट फिचर, नेभिगेशन सर्भिस, राइड मोड, डिस्क ब्रेक, अलोय ह्वील लगायतका फिचर छन् । एथर ४५० सिरिजले १६१ किलोमिटरसम्मको आइडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।
२. टीभीएस आइक्यूब
आइसीई मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी टीभीएसले उत्पादन गरेको पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूब पनि नेपालमा चर्चित छ ।
ट्रेडिसनल डिजाइनमा रहेको टीभीएस आइक्यूब कम मूल्य र टीभीएसको सर्भिस लगायत पार्टसको सहजताको कारण नेपालमा धेरैले रुचाएको पाइन्छ ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले टीभीएस आइक्यूबको तीन भेरियन्ट बिक्री गर्दै आएको छ । जसमा आइक्यूब २.२, आइक्यूब ३.० र एस ३.५ रहेका छन् ।
आइक्यूब २.२ मा २.२ किलोवाट आवर, आइक्यूब ३.० मा ३ किलोवाट आवर र आइक्यूब एस ३.५ मा ३.४ किलोवाट आवर क्षमताको लिथयम ब्याट्री छ । यी स्कुटरको मूल्य क्रमशः २ लाख ७९ हजार ९०० रुपैयाँ, ३ लाख १४ हजार ९०० रुपैयाँ र ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
यी स्कुटरले ७५ किलोमिटर देखि १४५ किलोमिटरसम्म रेन्ज दिने आइडीसीले प्रमाणित गरेको छ । आइक्यूबमा कनेन्ट फिचर, अन्डरसिट स्टोरेज, अलोय ह्वील, डिस्क ब्रेक लगायत फिचर उपलब्ध छ ।
३. याडिया भेलक्स
इलेक्ट्रीक स्कुटरमा याडिया नेपालमा धेरै रुचाइएको ब्राण्ड हो । कम मूल्यमा धेरै रेन्ज दिने स्कुटरको रूपमा याडिया नेपालमा चर्चित छ । कुजु नेपालले बिक्री गर्ने भेलेक्स स्कुटर सर्वाधिक खोजिने स्कुटरको तेस्रो नम्बरमा रहेको छ ।

याडिया भेलक्समा २.१६ किलोवाट आवरको लिथियम ब्याट्री उपलब्ध छ । कम्पनीले २ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको यो स्कुटरले एक पटकको फुलचार्जमा १०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यो स्कुटरमा १३ लिटरको बुट स्पेसका साथै, १४ इन्च ट्वीललेस टायर, डिस्क ब्रेक, कम्बाइन ब्रेकिङ सिस्टम लगायतका फिचर उपलब्ध छ ।
कुजु नेपालले यो स्कुटरमा ५० हजार किलोमिटर वा ३ वर्षको वारेन्टि समेत दिएको छ ।

