२०२५ मा नेपाल आएका टप ५ ईभी, कसको आयात कति ?

काठमाडौं । सन् २०२५ हामी माझबाट बिदा हुने क्रममा छ । अबको २३ दिनपछि २०२६ सुरू हुँदैछ । चालु वर्षमा ईभीकै बालवाल रह्यो, यस्तोमा सबैभन्दा धेरै आयात भएका ईभीको विषयमा यहाँ चर्चा गरिँदै छ ।

नेपालमा ईभीको बढ्दो बजारलाई मध्यनजर गर्दै बिक्रेता कम्पनीहरूले नयाँ नयाँ मोडल बजारमा ल्याए । मूल्यका हिसाबले ३० लाखदेखि ६० लाख रुपैयाँसम्मका ईभीले राम्रो बजार पाएको देखियो ।

सबैभन्दा धेरै आयात भएका गाडीको लिस्ट हेर्दा पनि बजार कति धेरै मूल्यमा केन्द्रित छ भनेर अनुमान लगाउन सकिन्छ । विशेषगरी २०२५ मा बीवाइडी, एमजी, टाटा, दीपल, ओमोडा/जेको र लीपमोटरका ईभीले धेरै चर्चा पाए ।

विद्युतीय कारको बजारमा सर्वाधिक आयात भएका मोडलमा एमजी, टाटा, बीवाइडी र नामीका उत्पादन टप ५ भित्र अटाएका छन् ।

५. बीवइडी डल्फिन

सन् २०२५ सबैभन्दा धेरै आयात भएका विद्युतीय कारको सूचीमा पाँचौं स्थान बीवाइडी डल्फिनले लिएको छ । डल्फिन ह्याचब्याक सन् २०२३ देखि नेपाली बजारमा उपलब्ध मोडल हो । अहिलेसम्म २ हजार ४४१ युनिट आयात भएको छ ।


प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध डल्फिनमा ७० किलोवाट क्षमताको मोटर र ४४.९ किलोवाट आवरको एलएफपी ब्याट्री छ । सिंगल चार्जमा ३४५ किलोमिटरसम्म रेन्ज दिने डल्फिन साइमेक्स इंकले नेपालमा बिक्री गरेको दोस्रो सफल मोडल हो ।

सुरूवाती दिनमा ३९ लाख ८० हजार मूल्य रहेको डल्फिन ह्याचब्याक किन्न अहिले भने ४१ लाख १५ हजार तिर्नुपर्ने हुन्छ ।

४. नामी-०१

डोङफेङ मोटर्सको नामी ब्राण्डमा नेपाल आएको नामी-०१ ह्याचब्याक कारले राम्रो सफलता पाएको देखिन्छ । सन् २०२५ मा सर्वाधिक आयात भएको विद्युतीय कारको सूचीमा चौथो स्थानमा परेको नामी-०१ को आयात ५७६ युनिट भएको छ ।


सन् २०२४ बाट नेपाली बजारमा प्रवेश गरेको नामी-०१ सुरूमा ७० किलोवाटको मोटरमा आएको थियो । अहिले ४९.५ किलोवाटको इलेक्ट्रीक मोटरमा उपलब्ध कारको टप भेरियन्टमा ४१ किलोवाट आवरको ब्याट्री छ । यसले ३३० किलोमिटर हाराहारी रेन्ज दिन्छ ।

विभिन्न भेरियन्टमा उपलब्ध भए पनि यसको सबैभन्दा बढी बिक्री हुने टप भेरियन्ट हो । जसको मूल्य ३४ लाख ७९ हजार रुपैयाँ तोकिएको छ ।

३. बीवाइडी एटो थ्री

नेपालको ईभी इतिहासमै अहिलेसम्म धेरै बिक्री भएको मोडल बीवाइडी एटो थ्री हो । सन् २०२२ मा १० युनिट मात्रै आयात भएको एटो थ्री २०२३ मा १ हजार ५३२ र २०२४ मा सबैभन्दा धेरै २ हजार ६८ युनिट आयात भएको थियो ।

विगत दुई वर्षभन्दा सन् २०२५ मा कम आयात भएपनि तेस्रो धेरै युनिट आयात हुने ईभी मोडलको रूपमा भने कायम छ । यस वर्ष ६३६ युनिट एटो थ्री आयात भएको हो । नेपाल आएदेखि अहिलेसम्म ४ हजार २४६ युनिट एटो थ्री नेपाल भित्रिएको छ ।


एटो थ्री १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा उपलब्ध छ भने ४९ किलोवाट आवर र ६० किलोवाट आवरको ब्याट्री क्षमतामा छ । सुरूमा १५० किलोवाट क्षमताको मोटरमा आउँदा झण्डै ९० लाख रुपैयाँ मूल्य रहेको एटो थ्री अहिले ५६ लाख ६७ लाख रुपैयाँ मूल्य तोकेर बिक्री हुँदै आएको छ ।

२. टाटा टिगोर

टाटा मोटर्स इन्डियाले उत्पादन गरेको टिगोर कम्प्याक्ट सेडान कार हो । सेडान कार खोज्नेको रोजाइमा पर्दै आएको टिगोरको एक्सप्रेस टी भर्सन ट्याक्सीको रूपमा आउन थालेसँगै यसको माग उच्च बनेको हो ।

सन् २०२५ मा ८७६ युनिट आयातसँगै टिगोर दोस्रो स्थानमा पर्न सफल भएको छ । टिगोर ईभी पनि सन् २०२२ बाट नेपालमा बिक्री सुरू भएको हो । सिप्रदी ट्रेडिङले सन् २०२२ मा १४९ युनिट, २०२३ मा ४४८ युनिट र २०२४ मा ७३८ युनिट गरेको थियो । सन् २०२५ सम्मको आयात जोड्दा अहिलेसम्म २ हजार २११ युनिट टिगोर ईभी आयात भइसकेको छ ।टाटा टिगोर ईभीमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ भने ४८ किलोवाटको इलेक्ट्रीक मोटर छ । कारको रूपमा ३० लाख सुरूवाती मूल्य रहेको टिगोर ईभी ट्याक्सीमा सर्भिस लगायतका स्कीम सहित किन्दा ३६ लाख ९९ हजार रुपैयाँसम्म पर्छ ।

१. एमजी एस फाइभ

सन् २०२५ को सर्वाधिक आयात भएको मोडल एमजी एस फाइभ हो । बिक्रीको हिसाबले पनि यो वर्ष सबैभन्दा धेरै बिक्री भएको विद्युतीय एसयूभीमा एमजी एस फाइभ नै पर्छ । पारामाउन्ट मोटर्सले १ हजार ५२ युनिट एस फाइभ नेपाल ल्याएको छ ।

मूल्यको हिसाबले सबैभन्दा बलियो देखिएको एमजी एस फाइभ किन्न ४३ लाख ९९ हजारबाटै सकिन्छ । यसको टप भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ छ । विभिन्न तीन भेरियन्ट र दुई ब्याट्री अप्सनमा उपलब्ध एस फाइभमा मोटर भने ९९ किलोवाटको छ ।


एमजीले एस फाइभको स्ट्याण्डर्ड भर्सनमा ५१ किलोवाट आवर र लङ रेन्जमा ६२ किलोवाट आवरको ब्याट्री दिएको छ । विश्वकै सबैभन्दा पातलो ब्याट्री भनेर चर्चा कमाएको एस फाइभ मूल्य, रेन्ज, कम्फर्ट लगायतका कुरामा पनि लिडर हो । अझ, सबैभन्दा कम मूल्यको रियर ह्वील ड्राइभ सिस्टम भएको एसयूभी पनि एस फाइभ नै हो ।


Back_to_top